५० वर्ष पछि ४ कक्षा



कैलाली । जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षको हुनुभयो । उहाँ दुई वर्षदेखि नियमित विद्यालय जानुहुन्छ । ‘४ कक्षाका साना बालबालिका सँगै पढ्छु । नेपाली अक्षर सरर पढ्न सक्छु ।’ मनबुझौनी भन्नुहुन्छ, ‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जांँदा अझ पढ्ने इच्छा बढ्दै जाँंदो रहेछ ।’

उहांँले सात जनाको परिवारका लागि बिहान र सांँझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिइरहनुभएको छ । ‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुंँदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमित पोशाकमै विद्यालयमा आउने गरेकी छु ।’ उहांँले भन्नुभयो, ‘म श्रीमानलाई सुनाउंँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’

विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउनुहुन्छ । ‘महिला विद्यार्थीहरू छिट्टै लेख्न, पढ्न  नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । सुरुसुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’, शिक्षिका कठरियाले भन्नुभयो, ‘नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरूलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छाैँ ।’

विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरू आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताउनुभयो । ‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’, प्रधानाध्यापक कठरियाले भन्नुभयो, ‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौंँ । उहांँहरूलाई थप कक्षा पनि दिने गरेका छौंँ ।’

उहाँंले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताउनुभयो ।

सम्बन्धित समाचार