ग्राभेल गर्ने भनिएको सडक ठेकेदारको लापरबाहीका कारण हिलाम्मे



ओखलढुंगा । वर्षा र हिलाम्मे सडकका कारण यतिबेला ओखलढुंगा–रामपुर सडकमा हिँड्न समस्या भएको छ। सदरमुकामको रामाइलो डाँडादेखि रामपुरसम्मको १६ किमी सडक कालो पत्रे र रामपुर लप्सेफेदी ७.६२३ किमी ग्राभेल गर्ने भनिएको सडक ठेकेदारको लापरबाहीका कारण हिँड्न नसकिने अवस्थामा पुगेको हो। सडकको ओखलढुंगा–सोब्रु खण्डमा ठेकेदारले जथाभावी खनेर छाडेको माटो बगेपछि सडक हिलाम्मे बनेको हो।

सदरमुकामबाट पश्चिम जाने मूलसडक मात्रै नभई ओखलढुंगा सामुदायिक अस्पतालसमेत त्यही सडक भएर पुग्नुपर्ने भएपछि पैदल र मोटरसाइकल यात्रीलाईसमेत सास्ती भएको छ। कालोपत्रे गर्न खनेर छोडिएको माटो र गेगर वर्षाका कारण बगेर सडकमा थुप्रिएपछि यस्तो समस्या आएको हो। सामान्य अवस्थामा ओखलढुंगा बजारदेखि सामुदायिक अस्पताल पुग्न पैदल यात्रामा २० मिनेटमा पुग्न सकिन्छ।

यो सडकखण्ड पैदल र मोटरसाईकल सम्‍भव छैन। ठेकेदारले जथाभावी खनेर छाडेपछि आउने लेदोका कारण पैदल यात्रा गरेर अस्पताल पुग्नसमेत कठिन बनेको छ साथै अस्पतालमा बिरामी लिएर आएका एम्बुलेन्सलाई समेत घण्टौं हिलोमा फस्ने गरेको सिद्धिचरण नगरपालिका १२ का स्थानीय भोला कार्कीले बताए।

सम्बन्धित समाचार