आज विश्वकर्माको पूजा गरी विश्वकर्मा दिवस मनाउँदै



काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

सम्बन्धित समाचार