श्रीमतीले नै श्रीमानको अपहरण



पोखरा । पोखरा महानगरपालिका ५ मालेपाटनका दामोदर पौडेल र कल्पना पौडेलले २०६२ सालमा विवाह गरे । विवाहको १४ वर्षसम्म उनीहरुको दाम्पत्य जीवन राम्रैसँग चल्यो । ४१ वर्षका दामोदर र ३२ वर्षकी कल्पनाको ११ वर्षीय एक छोरा छन् । घरको आर्थिक अवस्था पनि मध्यम नै छ । दामोदरको कुनै दुर्व्यसनमा लत छैन् । गाँजा, चुरोट, रक्सी, लागुपदार्थ सेवन गर्दैनन् ।

कुनै लागुपदार्थ, मद्यपान तथा धुम्रपानको लत नभए पनि उनकी श्रीमती कल्पनाले भदौ १९ गते उनलाई अचानक उद्धार केन्द्र भनेर अन्यत्रै लैजान खोजिन् । कल्पनाले पोखराकै आशाकिरण उद्धार केन्द्रका चारजना अन्य व्यक्तिको पनि सहायता लिइन् । १९ गते बिहीबार साँझ साढे ७ बजे जबरजस्ती बाहिरी मान्छेको सहयोगमा उद्धार केन्द्रमा लैजान खोजेपछि उनले प्रतिकार गरे । उक्त दिन उनी अपहरण हुनबाट बचे ।

“कुनै गलत कुराको लत रहेनछ” दामोदरको भनाई उदृत गर्दै प्रहरीले भन्यो । त्यसको भोलिपल्टै दामोदर जिल्ला प्रहरी कार्यालय कास्की पुगे । प्रहरी कार्यालय पुगेपछि उनले श्रीमतीले नै जबरजस्ती उद्धार केन्द्र पठाउन खोजेको भन्दै २० गते प्रहरीमा जाहेरी दिए ।

अहिले उनकी श्रीमती कल्पनासहित पाँचजना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरुलाई प्रहरीले जाहेरी दिएकै दिन पक्राउ गरेको थियो । उनीहरुलाई अपहरण उद्योगमा हिरासतमा राखेर थप अनुसन्धान गरिँदैछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसी भन्छन, “श्रीमान र श्रीमतीबीचको सम्बन्ध खराब भएकै कारण प्रहरीकहाँ मुद्दा आइपुगेको हो ।”

उनका अनुसार श्रीमान-श्रीमतीबीचको सम्बन्ध राम्रो नदेखिएका कारण श्रीमतीले नै तह लगाउने उद्देश्यले उद्धार केन्द्र पठाउन खोजेको देखिन्छ । सम्बन्ध नराम्रो हुनुमा आर्थिक पाटो पनि देखिन्छ । श्रीमान सोझा देखिएका कारण यो घटना भएको पनि हुनसक्छ । तर, यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार