अक्कर दुर्घटनाले उब्जाएको सवाल, कहिलेसम्म यात्रुबाहक सवारीबाट विरामी बोक्ने ?




गएको शुक्रबार राती अक्कर भिरबाट सिधै अरुण नदिमा बिरामी बोकेको जीप खस्यो । दुई जना बिरामी बोकेको उक्त जीप दुर्घटना हुँदा दुई महिनाको विरामी बच्चा सहित ६ जना जीपसँगै हराईरहेका छन् । त्यो घटनास्थल हेर्दा त्यहाँ कुनै पनि अप्ठ्यारो बाटो छैन । फराकिलो, झण्डै दुई लेनको जस्तो बाटो छ । तर दुर्भाग्य सिधै अरुण नदिमा जीप खस्यो ।

अब प्रश्न उठ्छ, त्यो जीपको चालकको मानसिक अवस्था कस्तो थियो ? त्यो भन्दा पनि ठुलो प्रश्न त विरामी त्यति राती किन जीपबाट धरान लगियो ? के खाँदबारीमा वा जिल्ला अस्पतालको पहुँचमा कुनै पनि एम्बुलेन्स नै छैन ? के सधै यसरी नै जीपबाट नै अन्यत्र बिरामी लैजाने गरिन्छ ? यदि त्यसो हो भने यस्तो किन भईरहेको छ ? यसको खोजी गरिनु आवश्यक छ ।

यो घटनापछि अधिकांस बिरामीहरु अन्यत्र लैजानु पर्यो भने कोही कसैको करकापमा वा स्वईच्छाले ट्याक्सी वा जीपबाट लैजाने गरिएको छ । यस विषयमा बुझ्दा एम्बुलेन्स भन्दा केही रकम सस्तो भएकोले ट्याक्सीमा लाने सिफारिस गरिन्छ, त्यसमा विरामीको आफन्त मञ्जुर (बाध्यत्मक अवस्थामा) भएर लैजाने गरिएको छ । त्यसका केही भुक्तभोगीहरुको भनाई अनुसार एम्बुलेन्समा लैजादा १२ हजार पाँच सय रुपैयाँ लाग्ने तर ट्याक्सीबाट लैजादा दश हजारमै लगिदिने गर्दछन् । तर केहीले भने एक तर्फी बाटोको २५ हजार रुपैयाँसम्म पनि तिरेको पनि पाईयो । पर्याप्त उपचार खर्च नभएकाहरुलाई दश हजार रुपैयाँमा नै लगिदिए पच्चिस सय रुपैयाँ कम हुनु राहत नै हो । कुनै स्वार्थ विना अस्पतालमै कार्यरत कर्मचारीहरुले यसरी सिफारिस गरेको हो भने मानवियताको हिसावले सहि नै मान्न सकिएला । तर कसैले ब्यावसायीक स्वार्थ मिसाएर सिफारिस गरेका हुन् भने यो उचित होईन ।

आवश्यक परेको बेला एम्बुलेन्स पाईन्न भन्ने पनि गुनासो सुन्ने गरिन्छ । खाँदबारी नगरपालिका भित्र मात्रै अस्पतालहरु र संघसंस्थाको गरि ६ वटा भन्दा बढी एम्बुलेन्स छ । केही त विग्रिएको होला, मान्न सकिएला । तर के सवै विग्रिएकै हो त ? एम्बुलेन्समा बिरामी बोक्नु र सामान्य नागरिक चढ्ने सार्वजनिक सवारी विचको फरक त सवैलाई थाहा भएकै हो । एम्बुलेन्सका चालकहरु प्राथमिक उपचारको तालिम लिएका र कमसेकम अक्सिजनको ब्यवस्था हुन्छ एम्बुलेन्समा । बाह्य सुरक्षाको हिसावले पनि एम्बुलेन्स सुरक्षित छ । यसलाई आम उपभोक्ताहरुले पनि मनन गर्ने हो की ?

अर्को कुरा, भनिएको जस्तै सार्वजनिक सवारी साधन भन्दा एम्बुलेन्स केही सय वा हजार महँगो भाडा दर निर्धारण गरिएको हो भने उक्त भाडादरमा केही समायोजन पो गर्ने हो की । यसो गरे बिरामले थिलथिलो बनाएको बिरामीको परिवारलाई ठुलो राहत हुने देखिन्छ । यसबारे सरोकारवालाहरुले बेलैमा सोच्नु पर्ने देखिएको छ । एम्बुलेन्सका चालकहरु जतिखेर पनि सवारी चलाउने मानसिकतामा हुन्छन् । त्यसैले मादक पदार्थ भन्दा टाढा बस्छन् भन्ने मान्यता हो । तर अन्य सार्वजनिक सवारी चालकहरुले आफ्नो निश्चित काम सकेपछि खानपानमा लागेको पनि हुनसक्छ । त्यस्तो अवस्थामा बाध्यत्मक अवस्थामा सवारी चलाए के हुन्छ ? भन्नै पर्दैन । हालैको दुर्घटनाको कारण पनि यहिँ नै हुनसक्छ भन्ने धेरैले अनुमान लगाएका छन् । कमसेकम एम्बुलेन्स प्रयोग भएको भए यत्तिका धेरैले अनहकमा ज्यान पो गुमाउदैनथेकी ?

अव, गरिव तथा कम आयश्रोत भएकाहरुले पनि एम्बुलेन्सबाट नै घण्टौको यात्रा छिचोलेर अस्पताल पुग्ने वातावरण बनाउन आवश्यक छ । जसको लागि सम्पुर्ण सरोकारवाला निकायहरुको तत्काल ध्यान जान जरुरी छ ।

सम्बन्धित समाचार