गुडिरहेको जिपमा भीरबाट ढुंगा खस्दा तीनजना घाइते



बेनी ।  बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगा लागेर तीनजना घाइते भएका छन् ।   जोमसोमदेखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले लागेर रुपन्देहीको देवदह नगरपालिका-५ का ७१ वर्षीय यामबहादुर विक, उनकी श्रीमती ६३ वर्षीया गंगी विक र बागलुंग नगरपालिका-३ का मनबहादुर थापा घाइते भएका छन् ।

घुमाउने ताल नजिकैको हिलो जमेको सडकमा गाडी पार गराउने क्रममा भीरबाट एक्‍कासी ढुंगा खसेको चालक शुशिल परियारले बताए । बेनी अस्पतालमा उपचार गराइरहेका घाइतेहरु खतरामुक्त छन् ।

यस्तैगरी मालिका गाउँपालिका-५ मा पहिरोले ताकमदेखि दरवाङ जाँदै गरेको लु २ च ७२०२ नम्बरको जिप बगाएको छ । गुडिरहेको अवस्थामा शनिबार साँझ एक्‍कासी आएको पहिरोसँगै जिप म्याग्दी नदीको किनारमा खसेको जिपका धनी महेन्द्र आचार्यले बताए । चालक र यात्रुहरुले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

सम्बन्धित समाचार