ताप्लेजुङ र तिब्बत सडक सञ्जालमा जोडिँदै



ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा तिब्बती निर्माण व्यवसायी समेत संलग्न हुने भएका छन्। असोजको पहिलो सातादेखि चीनको स्वशासित क्षेत्र तिब्बतका निर्माण व्यवासायी लोकमार्ग निर्माणमा संलग्न हुने भएका हुन्।  लोकमार्ग निर्माण कार्य चाँडै सम्पन्न गर्ने उद्देश्यले दुवैतर्फबाट निर्माण कार्यअघि बढाउन तिब्बतका निर्माण व्यवसायीबीच गत जेठमा सहमति भएको थियो।

फक्ताङलुङ गाउँपालिकाको अगुवाइमा भएको छलफलमा ओलाङचुङगोलादेखि सदरमुकामतर्फको १५ किलोमिटरसम्म ट्रयाक खोल्न तिब्बतका निर्माण व्यवसायी सहमत भएका थिए। भदौदेखि नै काम सुरु गर्ने सहमति भए पनि आवश्यक प्रक्रिया मिलाउन केही ढिला भएकाले असोजदेखि सुरु हुने लोकमार्ग आयोजना प्रमुख रामबहादुर गुरुङले बताए।

उनका अनुसार सबै प्रक्रिया पूरा भएकाले एक साताभित्रै तिब्बतका निर्माण व्यवसायी ओलाङचुङगोला आउने र नेपाली टोली पनि पुगेर निर्माण क्षेत्र देखाई निर्माण कार्य अघि बढ्ने छ।  लोकमार्गको ट्रयाक खोल्न लेलेपको लुङथुङदेखि ओलाङचुङगोलासम्म करिब २२ किलोमिटर बाँकी छ। लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लुङथुङसम्म ट्रयाक खोलिसकेको छ।

यसअघि वर्षाका कारण काम रोकिए पनि पुनः काम सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि राजिब लामिछानेले जानकारी दिए।  उनका अनुसार दुवैतर्फबाट काम अघि बढे आगामी वर्षको असोजसम्म सडक सञ्जालबाट ताप्लेजुङ सदरमुकाम तिब्बतसँग जोडिने छ। टिपताला ओलाङचुङगोला बस्तीसम्मको करिब २१ किलोमिटर सडकको ट्रयाक यसअघि खुलिसकेको छ। सो ट्रयाक समेत तिब्बतका निर्माण व्यवसायीको संलग्नतामा खुलेको हो। स्थानीय स्तरमा बनेको उपभोक्ता समितिले तिब्बतका निर्माण व्यवसायीलाई ट्रयाक खोल्ने जिम्मा दिएको थियो। यस्तै, टिपतालादेखि तिब्बतको रिउ बजारसम्म करिब आठ किलोमिटर सडक तिब्बतले निर्माण गरेको छ।

सम्बन्धित समाचार