मूर्ति सेलाउने क्रममा एक मुस्लिम युवाको डुबेर मुत्यु



सप्तरी । सप्तरीमा विश्वकर्मा भगवानको मूर्ति सेलाउने क्रममा एक मुस्लिम युवाको डुबेर मुत्यु भएको अवस्थामा आज शव फेला परेको छ । मूर्ति सेलाउन सप्तकोशी नदी गएका सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियाका २० वर्षीय अमिर खाँको शव चार दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकाको जोगिनियास्थित कोशी नदीमा मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक सागिर राइनले बताउनुभयो ।

मृतकका आमा नजबुन खातुनका अनुसार कञ्चनरुप नगरपालिका बेरियरस्थित विनोद साहको मारुती ग्यारेजमा अमिर मजदुरी गर्दथे । ग्यारेजमा गरिएको विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न अन्य मजदुरहरु साथीहरुसहित अमिर बिहीबार कोशी नदी गएका थिए ।

यसअघि शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित सप्तकोशी नदीको पश्चिमी नहरमा मूर्ति सेलाउन गएका राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा कार्यरत २२ वर्षीय मनिषकुमार यादवको शव फेला परेको थियो । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव डेरीमा बनाइएको मूर्ति पूजाआजापश्चात सेलाउने क्रममा बिहीबार साँझ बेपत्ता भएकोमा शुक्रबार शव फेला परेको थियो ।

सम्बन्धित समाचार