लागूऔषध गाजा ओसार पसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण



हेटौंडा ।मकवानपुर प्रहरीले अवैध लागूऔषध गाजा ओसार पसारमा संलग्न एकजनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीले ७८ किलो ८ सय ग्राम गाजासहित पक्राउ परेका पर्सा जिल्ला वीरगंज महानगरपालिका २९ का अफ्रिका चौधरीलाई मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।

उनलाई हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक चेकजाँचको क्रममा सोमबार राति खुट्टामा दुई राउण्ड गोली प्रहार गरी पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

‘प्रहरीले ट्रकमा चेकजाँच गर्ने क्रममा प्रहरीसहित चालक चौधरीले ट्रक भगाएका थिए,’ उनले भने, ‘करिब साढे ३ किलोमिटर पर चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जंगलतर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवहाको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिएको हो।’

नियन्त्रणमा लिने क्रममा खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको र घटनामा दुईजना प्रहरी समेत घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। ट्रकको क्याविनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागूऔषध गाजा बरामद गरेको एसपी सिंहले बताए । ट्रक चालक उपचाररत रहेको र अर्का फरार व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार