छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद



चितवन । छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला भएको छ । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका खैरहनी नगरपालिका १ का एक ४२ वर्षीय पुरुषलाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको छ ।

२०७५ चैत २१ गते राति आमा माइत गएको अवस्थामा आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित आफैले उजुरी दिएकी थिइन् । हाडनातामा बलात्कार भएको पुष्टि गर्दै जन्मकैदको सजाय भएको हो ।

चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले मंगलबार यस्तो फैसला गरेको हो । गएको असोज २ गते हाडनाता करणीमा बाबुले छोरीलाई बलात्कार गरेको घटनामा चितवन अदालतले ४० वर्ष कैदको फैसला गरेको थियो ।

त्यस्तै ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलाइएका भारत पूर्वी चम्पारण घर भै भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई चितवन अदालतले गत आइतबार १६ वर्ष कैद फैसला सुनाएको थियो ।

चितवन जिल्ला अदालतले असोज पहिलो हप्तामा ५ वटा बलात्कारसम्बन्धी घटनामा फैसला गरेको छ । दुई वटा हाडनाता करणीसँग सम्बन्धित घटना हुन् भने बाँकी ३ वटा बलात्कारका घटना रहेका छन् ।

सम्बन्धित समाचार