सम्झौताभन्दा चार महिनाअघि नै भवन निर्माण गरि हस्तान्तरण




संखुवासभा । देशैभरिका निर्माण व्यवसायी कम्पनीहरुले सम्झौताअनुसार काम नगरेको भन्दै चर्को आलोचना खेपिरहेका छन् । यस्तै संखुवासभामा पनि समयमै काम सम्पन्न नगर्ने आधा दर्जन बढी निर्माण कम्पनीहरुको धरौटी रकम जफत र जरिबाना तिरेका छन् ।

तर संखुवासभाकै कुन्सालिङरअरुण वरुण जेभी निर्माण कम्पनीले भने तोकिएको सम्झौता समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । संखुवासभामा लामो समयदेखि निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएको कुन्सालिङरअरुण वरुण जेभीले एक करोड ७९ लाख ५३ हजार चार सय ३५ रुपैयाँको बजेटमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

स्वास्थ्य चौकी भवनको ठेक्का संघीय आयोजना कार्यालय विराटनगरले गएको २०७५ साल असार २५ गते ठेक्का लगाएको थियो । ठेक्काअनुरुप विक्रम संवत २०७६ पुस २४ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनी अरुण वरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिना अगाडि नै भवन निर्माण सम्पन्न गरेर बुझाउनुभएको हो ।

नयाँ भवनमा १३ वटा कोठा रहेका छन् । भवनको प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाले गरेको जेभीका निर्देशक शेर्पाले जानकारी दिनुभयो । उहाँले मानिसले साँच्चिकै काम गर्ने सोच बनाएर काम गर्‍यो भने समयभित्र नै सम्पन्न गर्न सकिने बताउनुभयो ।

यता जिल्लामा सडक, भवन निर्माणलगायत सानारठूला सबै पूर्वाधारका क्षेत्रमा करोडौँ रुपैयाँको बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण त्यत्तिकै अलपत्र भइरहेको प्रशस्त भेटिन्छन् । धेरै आयोजना अलपत्र परेको अवस्थामा अरुणबरुण जेभी कम्पनीले उदाहरणीय काम गरेको हो ।

‘मैले केही महिनाअघि तेह्रथुम जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयको भवन २ करोड ६२ लाख रुपैयाँमा ठेक्का पारेको थिए । त्यो भवन पनि सम्झौता समयभन्दा सात महिना अगाडि नै सम्पन्न गरेर बुझाइसकेको छु’, निर्देशक शेर्पाले भन्नुभयो, ‘त्यसका साथै संखुवासभाको कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाको भवन पनि समयअघि नै बनाएकाले १० प्रतिशत बोनस प्राप्त गरे । सरकारको नीति राम्रो छ । सम्झौता गरेको समयभन्दा जति छिटो काम सक्यो, त्यहीअनुसार बोनस समेत दिन्छ ।’

सम्झौता समयअघि काम सम्पन्न गरेमा प्रतिदिन ० दशमलव ५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने प्रावधान छ । त्यस्तै सम्झौताभन्दा ढिलो काम गरेमा त्यहीअनुसार जरिबानासमेत लिने नियम रहेको शेर्पाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी संघ संखुवासभामा जम्मा ९३ वटा निर्माण व्यवसायी कम्पनीहरु दर्ता रहेका छन् । तीमध्ये जिल्लामा सबैभन्दा उत्कृष्ट काम गर्ने र १० प्रतिशत बोनस पाउने अरुण वरुण जेभीका मिगुर शेर्पा रहेकाले उहाँलाई प्रदेशमा सिफारिस गरेर पठाएको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले सबै ठेकेदार कम्पनीहरुलाई एकै ठाउँमा दाँज्न नहुने बताउँदै केही ठेकेदार कम्पनीहरुले राम्रो काम गरिरहेको धारणा राख्नुभयो ।

सम्बन्धित समाचार