गौहत्या प्रकरणका आरोपी धरौटीमा छुटे



सुर्खेत । गौहत्या प्रकरणका आरोपीलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।जिल्ला अदालत सुर्खेतमा शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलाशले अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिइएको हो।

गौहत्यामा संलग्न रहेको भन्दै सुर्खेत प्रहरीले पक्राउ गरेका १६ जनामध्ये १४ जनालाई धरौटीमा र दुईजनालाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो । गत भदौ १२ गते नेपालगंज उपमहानगरपालिकाले दैलेख पठाउने भनिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका थिए ।

अदालतको आदेशपछि पक्राउ परेकाहरु धरौटी बुझाएर शुक्रबार नै रिहा भएका छन् । गौहत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगञ्ज उपमहानगरका नगरप्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

यस्तै गाईगोरु ओसार्न प्रयोग भएका ट्रकका मालिक चितवनस्थित गुड्स क्यारियर्सका संचालक सन्त्रीप्तसिंह श्रेष्ठलाई तीन लाख ५० हजार र नगरप्रहरी नेपालगंजका प्रहरी सहायक निरीक्षक विकास गौतमलाई २ लाख ५० हजार रुपैयाँ घरौटीमा छाड्न आदेश दिइएको हो ।

सम्बन्धित समाचार