इन्जिनियरका कारण अध्यक्षको मृत्यु स्थानीयवासी नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिए



झापा । इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले गौरादह नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयवासीले सोमबार बिहानदेखि अध्यक्षको शव नगरपालिका परिसरमै राखेर नाराबाजीमा उत्रिएका हुन् । घटनालाई साम्य बनाउन नगरपालिका परिसरमा बाक्लो प्रहरी परिचालन गरिएको छ।

गौरादह नगरपालिका ८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय धनवीर राजवंशीको उपचारको क्रममा आइतबार मृत्यु भएको हाे । बुबाको मृत्यु नगरपालिकाका इन्जिनियरको कारण भएको छोरा सूर्य राजवंशीले आरोप लगाएका छन् ।

घटना विवरण अनुसार मृतक राजवंशी (हिजो) आइतबार दिउँसो १ बजे नगरपालिका भुक्तानीका लागि गएका थिए । भुडिसिमल बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशी नगरपालिका इन्जिनियर सचिन क्षेत्रीलाई गएर भेटी इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएपछि राजवंशी कार्यालय परिसरमै बेहोस भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ। नगरपालिकामै बेहोस भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।

सम्बन्धित समाचार