धानको बिउ नै नक्कली, डिएनए फिंगर प्रिन्ट परिक्षण



काठमाडौं । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको बिउ नक्कली भएको हुन सक्ने आशंका सहितको प्रतिवेदन अध्ययन समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ।  बिउ नक्कली भए नभएको एकिन विवरण भने उक्त धानको डिएनए फिंगर प्रिन्ट परिक्षणपछि मात्र थाहा लाग्ने छ।

बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डिएनए परिक्षणको प्रकृया शुरु गरिसकेको समितिले जनाएको छ। समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका बैज्ञानिक शुशीलराज सुवेदीका अनुसार उक्त धानको विरुवा रोपेको ७ दिनमा पात लाग्ने छ र पात लागेपछि मात्र डिएनए परिक्षण गर्न मिल्ने छ। त्यसको ३ दिनमा डिएनएको नतिजा आइसक्ने छ।

गरिमा जातको हाइब्रिड भनिएको धानमा एक सय २० देखि २५ दिन भित्र पाक्नु पर्ने विशेषता भएको भनिए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्नको लागि समिति गठन गरेको थियो। राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्सीय समिति गठन गरिएको थियो। समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल र अन्तरकृया गरी तयार पारेको प्रतिवेदन मन्त्री खनाललाई बुझाएको हो।

सम्बन्धित समाचार