तोकिएको समयभन्दा अघि नै स्वास्थ्य चौकी भवन निर्माण



धनकुटा । देशमा अधिकांश ठेकेदारले धेरै योजनाको ठेक्का लिने तर समयमै काम नसक्ने आरोप खेपिरहेको बेला धनकुटाका एक ठेकेदारले तोकिएको समयभन्दा अघि नै स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेका छन्। धनकुटाको शहीदभूमि गाउँपालिका–६ थलथले बजारस्थित आँखिसल्ला स्वास्थ्य चौकी भवन निर्माणको म्याद १८ महिना भए पनि ठेकेदार कम्पनी सगरमाथा सुदिक्षा थुलुङ्ग जेभीले साढे १३ महिनामा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो।

निर्माण कम्पनीका ठेकेदार प्रकाश थुलुङले एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मनोज राईको रोहवरमा वडाध्यक्ष हेमकुमार राई, आँखिसल्ला स्वास्थ्य चौकीका निमित्त प्रमुख जीवनकुमारी राईलाई निर्माण सम्पन्न भएको भवन र कागजात हस्तान्तरण गरे। तोकिएको समयअघि नै योजना पूरा गरेको कारण ठेकेदार कम्पनीले सरकारवाट योजनाको कुल लागतको करिब २० प्रतिशत बोनस रकमसमेत पाउने भएको छ।

शहरी विकास कार्यालय तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाको भ्याटबाहेक २ करोड ९ लाख ३४ हजार १ सय ८३ रुपैयाँको लागतमा सो भवन निर्माण भएको ठेकेदार प्रकाश थुलुङले बताए। सो भवनको निर्माण सम्झौता २०७५ साल असार २५ गते भएको थियो। योजना निर्माण सम्पन्न म्याद आगामी पुस २४ गतेसम्म रहेको छ।

सम्बन्धित समाचार