सभामुखको दुर्व्यवहारमा परेकी महिलाको भित्रीकथा, श्रीमानसँग हिमचिम, श्रीमतीसँग उठबस



काठमाडौं । सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहारमा परेकी संसद सचिवालयकी कर्मचारीले केही महिनाअघि विष सेवन गरेर आत्महत्याको प्रयास गरेको खुलेको छ । केही समययता उनी ‘डिप्रेसन’ को शिकार बनिरहेकी छिन् । उनी निकै लामो समयदेखि तनावमा थिइन् ।

सभामुखबाट बलात्कारमा परेको आरोप लगाउने कर्मचारीका बारेमा चर्चा गर्नुपूर्व आइतबार राति तीनकुनेमा भएको घटनाबारे चर्चा गरौं ।

प्रहरी पुग्दा महरा भेटिएनन्

तीनकुने एरियामा बलात्कारको घटना भएको खबर आएपछि बानेश्वर वृत्तका प्रहरी अधिकारी आइतबार राति ९ बजेतिर लोकेसन ट्रास गर्दै महिला कर्मचारीको डेरामा पुगे । प्रहरीले बाहिरबाट फोन गरे । महिलाले भोलि कुरा गर्छु भनिन् । फोन काटियो ।

प्रहरी अधिकारीले आफू कोठाकै बाहिर आएको र केही अप्ठ्यारो परेको छ भने भन्नुहोला भनेपछि महिला कर्मचारी ढोकामा आइन् । रातिको मामिला, एक्ली महिला भएका ठाउँमा भित्र पस्न प्रहरी हिच्किचाए । र, घरमा अरु पनि कोही छन् कि छैनन् भनेर प्रहरीले ढोका बाहिरैबाट सोधे । त्यसपछि उनले घरबेटी आन्टीलाई बोलाइन् । सो घरमा ती महिला कर्मचारी र घरबेटीसमेत दुईजना महिला मात्र थिए । घरबेटी महिला निकै वृद्ध देखिन्थिन् ।

घरबेटीसमेत तल आएपछि बल्ल प्रहरी कोठाभित्र छिरे । त्यहाँ पुगेपछि मात्र प्रहरीलाई जानकारी भयो कि केही समय पहिले त्यहाँ पसेर महिलामाथि दुर्व्यवहार गर्ने भनिएका व्यक्ति सभामुख कृष्णबहादुर महरा रहेछन्, जो प्रहरी पुग्नुअगावै हिँडिसकेका थिए । सभामुखले आफूलाई कुटपिट र जवरजस्ती करणी गरेर फर्केको महिलाले प्रहरीलाई सुनाइन् । बाहिर नीलो रंगको गाडी र चालकलाई छाडेर उनी भित्र पसेको उनको कथन थियो । प्रहरीको बुझाइमा उक्त कोठामा सभामुख महरा यसअघि पनि पटक(पटक जाने गरेको ती महिलाको भनाइबाट स्पष्ट हुन्थ्योे ।

कर्मचारीको कोठमा पुगेर फर्केका सुरक्षाकर्मीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ती महिला कर्मचारी मदिराले मातेको अवस्था थिइन् । महराले रक्सी लिएर आएको र आफूलाई पनि खान आग्रह गरेकाले खाएर मातेको उनले प्रहरीलाई बताइन् । प्रहरीका अनुसार उनको गालामा रातो डामजस्तो देखिन्थ्यो । कोठामा रक्सी र वियरका केही बोतल र गिलास भेटिए । महिलाले फुटेको चश्मा देखाउँदै त्यो सभामुख महराको भएको बताइन् । प्रहरीले घटनास्थलको केही तस्वीर खिचे ।

प्रहरीले ती महिला कर्मचारीलाई भोलि बानेश्वर प्रहरी वृत्तमा आउन र उजुरी दर्ता गराउन आग्रह गर्‍यो र राति नै त्यहाँबाट फर्कियो ।तर, महिला सोमबार प्रहरीमा उजुरी दर्ता गराउन गइनन् । यो समाचार लेख्दासम्म उनले महराविरुद्ध उजुरी दर्ता गराएकी छैनन् । र, प्रहरीले पनि यो घटनाबारे थप अनुसन्धान थालेको छैन ।

श्रीमानसँग हिमचिम, श्रीमतीसँग उठबस

संसद सचिवालमा काजमा काम गरिरहेकी यी महिला कर्मचारी नर्स हुन् । उनका श्रीमान पनि स्वास्थ्य सेवाकै कर्मचारी हुन्, जो काठमाडौं बाहिर रहेका बेला आइतबारको घटना भएको हो ।

यी महिला कर्मचारीसँगको सभामुखको चिनजान उनका श्रीमानमार्फत भएको हो । अहिलेसम्म पनि ती महिला कर्मचारीका श्रीमान र सभामुख महरावीच दोहोरो सम्बन्ध कायमै छ । मंगलबार बिहान मात्र सभामुख महरा र महिलाका श्रीमानवीच टेलिफोन सम्पर्क भएको पाइएको छ । श्रीमानले काठमाडौं आइपुगेर आफ्नी पत्नीलाई सम्झाउने र सभामुखलाई बचाउन सहयोग गर्ने वचन दिएको महरानिकट स्रोतको दाबी छ ।

‘उसले कहिले विष सेवन गर्ने, कहिले के गर्ने गरेर मलाई हैरान पारेकी थिई, अब सरलाई पनि त्यस्तो आरोप लगाइछ, म काठमाडौं आएर उसलाई सम्झाउँछु’ मंगलबार बिहान ती महिलाका श्रीमानले सभामुखलाई दिएको आश्वासन स्रोतले सुनायो । पीडित भनिएकी महिलाको मोबाइल मंगलबार बिहानैदेखि स्वीच्ड अफ छ । उनी प्रहरीको सम्पर्कमा पनि पुगेकी छैनन् ।

सभामुख महराले विगतमा गृहमन्त्रालय सम्हालेका बेला केही समय स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । त्यहीबेला महराले ती महिलाका पतिलाई स्वास्थ्य मन्त्रालयमा आफ्नो निजी सचिवालयमा तानेका हुन् । स्वास्थ्य सेवाका कर्मचारी रहेका ती महिलाका श्रीमान ०३९ सालदेखि नै माओवादी पार्टीको निकट रहेको हुनाले पार्टी निकट कर्मचारीलाई महराले स्वास्थ्य मन्त्रालयमा ल्याएका थिए । र, त्यहीबेलादेखि नै श्रीमान श्रीमती दुबैजना महरासँग नजिक भए । ती महिलाका श्रीमानले अहिले पनि महरासँग बाक्लै भेटघाट गर्दै आएका छन् ।

संसद चलेका बेला स्वास्थ्योपचारका लागि भनेर संसद बाहिर एउटा एम्बुलेन्स र स्वास्थ्यका ५र७ जना कर्मचारी, नर्सहरु स्टाण्डबाई रहने गर्छन् । त्यसका लागि संसद सचिवालयमा ‘स्वास्थ्य शाखा’ नै छुट्याइएको छ । त्यो शाखामा स्थायी दरबन्दी कसैको हुँदैन, सबैलाई काजमा ल्याउने चलन छ । यी महिला कर्मचारी पनि त्यही काज अन्तरगत विगत केही वर्षदेखि संसद सचिवालमा खटिँदै आएकी थिइन् ।

एकथरिको भनाइ के छ भने वीर अस्पतालमा कार्यरत रहेकी ती महिला कर्मचारीलाई सभामुख महराले नै काजमा संसद सचिवालयमा झिकाएका हुन् । तर, महरानिकट स्रोत भने यो भनाइ अस्वीकार गर्छ । उपत्यकाकै कुनै अस्पतालमा कार्यरत ती नर्सलाई पूर्वसभामुख ओनसरी घर्तीकै पालामा संसद सचिवालयमा काजमा ल्याइएको महरानिकट स्रोतको भनाइ छ ।

ओनसरी घर्ती र कृष्णबहादुर महरा दुबै पूर्वमाओवादी नेता भएकाले ओनसरीले सचिवालयमा ल्याएका स्टाफहरुलाई नै महराले निरन्तरता दिएको स्रोत बताउँछ । स्रोत भन्छ, ‘ओनसरीले काजमा ल्याएका कोही पनि कर्मचारीलाई हटाइएको छैन । काज वा करारमा भएका सबै कर्मचारी पुरानै छन् ।’ संसद सचिवालयमा यी महिला कर्मचारीलाई ओनसरीकै पालामा ल्याइएको मान्ने हो भने उनले सभामुख महरासँग संगत गरेको लगभग दुई वर्ष पुग्न लागेको छ । किनभने, महरा सभामुख बनेको दुई वर्ष पुग्न लागेको छ ।

आफ्नै श्रीमानमार्फत सभामुख महरासँग चिनापर्ची भएकी महिला कर्मचारीले आफू निकै पहिलेदेखि नै महराबाट दुव्र्यवहारको शिकार हुने गरेको आफू निकटस्थहरुलाई बताउँदै आएकी थिइन् । यतिसम्म कि पूर्वमाओवादी सर्कलमा महरा र ती महिला कर्मचारीको सम्बन्धबारे ‘ब्याक बाइटिङ’ समेत हुँदै आएको थियो ।
यसैवीच ५र६ महिना पहिले उनले आफ्नै कोठामै विष सेवन गरिन् । तत्काल नजिकै रहेको सिभिल अस्पतालमा पुर्‍याइएकाले उनलाई बचाउन सम्भव भयो ।

ती महिला कर्मचारीले लगाएको आरोप निराधार भएको सभामुख महरा र उनको निजी सचिवालयले बताएको छ । उनी समायोजनमा काठमाडौं बाहिर जानुपर्ने भएपछि त्यही रीसले दुव्र्यवहारको आरोप लगाएको दाबी गरिए पनि सभामुख महरा आफैंले उनलाई संसद सचिवालमै राख्न लविङ गर्दै आएको खुलेको छ ।

यही क्रममा सभामुख महराले एकदिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बोलाएर ती महिलालगायत संसद सचिवालयका कर्मचारीका बारेमा लविङ गरेका थिए । तर, मन्त्री पण्डितले महराको आग्रह अस्वीकार गरिदिए । ‘मलाई मेरो ढंगले काम गर्न दिनोस्, कहिलेकाँही प्रधानमन्त्रीले पनि भन्नुहुन्छ, तपाई पनि भन्नुहुन्छ, सबै कुरा सुनेको छु’ मन्त्री पण्डितले त्यसबेला सभामुखलाई भनेका थिए, ‘मलाई मेरो ढंगले काम गर्न दिनोस् ।’

त्यसो त आफूले ती महिलाको काजका विषयमा कुराकानी गरेको स्वयं महराले समेत स्वीकारेका छन् । सोमबार अनलाइनखबरसँगको कुराकानीमा सभामुख महराले भने, ‘समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’

अनलाईन खबरबाट साभार गरिएको ।

https://www.youtube.com/watch?v=xnl4pvg8tW8&t=38s

सम्बन्धित समाचार