झापामा जंगली चितुवा आतंक बढ्दै, स्थानीय चिन्तित



भद्रपुर । झापामा जंगली चितुवा आतंक बढेको छ। भारतीय सीमावर्ती नाकासँग जोडिएको मेचीनगर नगरपालिका ७ स्थित राज टि स्टेट आसपासको बस्तीमा केही दिनदेखि जंगली चितुवा आतंक बढेपछि त्यहाँ स्थानीय चिन्तित बनेका छन्। आहारको खोजीमा निस्किने चितुवा रातको समयमा बस्तीमा प्रवेश गरेर किसानले पालेको घरपालुवा जनावरसमेत मार्न थालिसकेका छन्।

घरपालुवा जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका छन्। आइतबार राति बस्तीमा आएको चितुवाले राज टि स्टेटका ठेकेदार सन्तोष सुब्बाले पालेको सुँगुर मारेको छ। साता दिनदेखि बगानमा जंगली चितुवा देखा परेको ठेकेदार सुब्बाले बताए। तीन दिनको अन्तरालमा चितुवाले बगानमै काम गर्ने कामदारले पालेको एउटा सुँगुर र एउटा बाख्रा मारिसकेको उनले बताए।

‘बगानमा चितुवा निस्किन थालेपछि आसपासका बगानका कामदारसहित बस्ती आसपासका गाउँले त्रसित छन्’, उनले भने, ‘अहिले रात परेपछि कोही पनि घरबाट एक्लै बाहिर निस्किँदैन, अहिलेसम्म चितुवाले जनावरमा मात्र मार्दै आइरहेको छ, यस्तै रही रह्यो भने मान्छे मार्ने दिन पनि आउँछ।’

चितुवा बस्तीमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको सौरभ टि स्टेटका कर्मचारी अभिषेक प्रधानले बताए। बस्तीमा चितुवा आतंक भए पनि सम्बन्धित निकाय नपुगेको उनको भनाइ छ।

सम्बन्धित समाचार