महरा प्रकरणमा नयाँ माेड : पीडित भनिएकी महिलाले एक दिन नबित्दै बयान फेरिन्



काठमाण्डौ । आफूलाई सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भनेर आरोप लगाएकी संसद सचिवालयकी एक कर्मचारीले एक दिन नबित्दै बयान फेरेकी छिन् ।

सोमबार साँझ एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै पीडित भनिएकी महिला कर्मचारीले सभामुख महरा आफ्नो काेठामा आएर आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । तर मंगलबार फेरि अर्को एउटा सञ्चारमाध्यममा पीडित भनिएकी महिलाले अन्तरवार्ता दिँदै आफ्नो काेठामा सभामुख नआएको र कुनै दुर्व्यवहार पनि नभएको भन्दै बयान फेरेकी हुन् ।

पीडित भनिएकी महिलाले सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरा आफ्नो बुवासरह भएको र आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी छिन् । उनले उल्टो सोमबार प्रकाशित समाचार पत्रकारले बंग्याएर लेखेको आरोप लगाएकी छिन्, ‘मैले रिस उठ्दा भनेका के-के कुरालाई पत्रकारले बंग्याएर लेखिदिएछन् ।’

सोमबार सार्वजनिक भएको पीडित भनिएकी महिलाको अन्तर्वार्ताका कारण सभामुख पदबाट महराले राजीनामा दिइसकेका छन् । सभामुख पदमा रहँदा महिलामाथि दुर्व्यवहार गर्ने भन्दै चर्को आलोचना भएपछि महराले मंगलबार बिहान राजीनामा दिएका हुन् ।

सभामुखमाथि गम्भीर आरोप लागेपछि आकस्मिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसेर सभामुख पदबाट महरालाई राजीनामा दिन सुझाव नै दिनुपरेको थियो ।

अघिल्लो दिन आकस्मिक रुपमा आरोप लगाएकी ती महिलाले भोलिपल्टै बयान फेर्नुलाई धेरैले अचम्म मानेका छन् । सामाजिक सञ्जालमा कतिपयले दबाबका कारण महिलालाई बयान फेर्न बाध्य पारिएको भन्दै निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका छन् ।

महिलाले बयान फेरेर सभामुख आफ्नो काेठामा नै नआएको बताए पनि यसमा प्रहरीले अनुसन्धान गर्ने पाटो धेरै हुनसक्छ । पहिलो सीसीटीभी फुटेजका आधारमा सभामुख महरा पीडित भनिएकी महिलाको कोठामा गएको हो कि होइन भन्ने अनुसन्धान गर्न सक्छ ।

बानेश्वर क्षेत्रमा नै पीडित भनिएकी महिलाको कोठा रहेकाले त्यस क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा पक्कै पनि महरा गएको वा नगएको भन्ने प्रहरीले हेर्न सक्छ ।

पीडित भनिएकी महिलाले प्रहरीमा खबर गरेको र प्रहरी पनि त्यही दिन घरको खानतलासी गर्न गएको भनेकाले कतिबेला फोन गरेको हो त्यसको पनि कल डिटेल निकाल्न सक्छ ।

अर्को, सभामुख महरासँग उनको टेलिफोन सम्पर्क कतिको हुन्छ त्यसबारेमा पनि प्रहरीले छानबिन गर्न सक्छ । साेमबार प्रकाशित समाचारपछि ती महिलासँग क-कसले सम्पर्क गरेका छन् तिनीहरुलाई पनि अनुसन्धानकाे दायरामा समेट्न सकिन्छ । यसबाट महरा वा अन्य कसैले दबाब दिएकाे हाे वा हाेइन पत्ता लगाउन सकिन्छ ।

प्रहरीले मंगलबार दिउँसो पीडित भनिएकी महिलाको कोठाबाट मदिराको बोतल, भाँचिएको चश्मा तथा अन्य प्रमाणहरु संकलन गरिसकेकाले त्यसबाट पनि वास्तविकता पत्ता लगाउन सक्ने अवस्था रहन्छ ।

पीडित भनिएकी महिलाले अहिले स्वास्थ्य परीक्षण गर्न नमानेको भनेकाले पनि केही शंका गर्ने अवस्था छ । त्यसैले प्रहरीले यतातिर पनि ध्यान दिनु आवश्यक छ ।

योसँगै अहिले बयान फेरेकाले प्रहरीले अन्तिम कडीको रुपमा महिलालाई ‘लाई डिटेक्टर’ मार्फत बयान लिनुपर्छ । एउटी महिलाको बयानकै आधारमा देशको राजनीति उथलपुथल भएकाले अब यसबारेमा प्रहरीले सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।  दाेषी जाे भए पनि उसलाई कानुनी कारबाही गर्नैपर्छ ।

सम्बन्धित समाचार