रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु घर फर्किन थाले



कञ्चनपुर । दसैँको चहलपहल सुरु भइरहँदा रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु पनि घर फर्किन थालेका छन् ।पश्चिमी सीमा नाका गौरीफण्टा र गड्डाचौकी भएर अहिले घर फर्कनेहरुको घुँइचो नै लाग्न थालेको छ ।

विगतको तुलनामा सहज भए पनि चेकजाँचको क्रममा सीमा नाकामा भारतीय सुरक्षा बल एसएसबीले भने अनाहकमा दुःख दिने गरेको यात्रुहरुको गुनासो छ । सुदूरपश्चिमलगायत नेपालका विभिन्न स्थानबाट भारतका विभिन्न शहर पुगेकाहरु दशैँतिहारजस्ता चाडबाड मनाउन फर्किने क्रम जारी छ ।

कोही वर्षैभरी त कोही केही महिनाको लागि काम गर्न गएकाहरु घर फर्किएको घुइँचो गौरीफन्टा र गड्डाचौकीको नाकामा देख्न सकिन्छ ।दशैँ मनाउन घर फर्किरहेका नेपालीहरुलाई चोजाँचको लागि सीमामा विगतको भन्दा केही सहज भए पनि भारतीय सुरक्षा बल एसएसबीले भने दुख दिन छाडेको छैन ।

भारतीय कस्टमले समेत आवतजावतमा सहज बनाएका बेला भारतीय एसएसबीबाट चेकजाँचका नाममा घरका लागि ल्याएका सामान ल्याउन समस्या भइरहेको छ ।चेकजाँजका क्रममा झोला नै च्यात्ने, दुव्र्यवहार गर्ने गरेको यात्रुहरुको गुनासो छ । चेकजाँचका नाममा ४/५ घण्टा कुराउने तथा ल्याएको सामान नै तितरवितर पार्ने किसिमका समस्या भोग्नुपरेको हो ।

भारतीय प्रहरीले पनि सिधै रकम नलिई गाडी स्टाफमार्फत् रकम लिइरहेको पनि नेपालीहरुको गुनासो छ ।घर फर्किने नेपालीहरुलाई कुनै समस्या नहोस् भनेर विभिन्न नाकाहरुमा सीमा सहायता कक्ष राखिएको छ । सहायता कक्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतिय सुरक्षा बल एसएसबी पनि बस्ने गरेका छन् ।

सम्बन्धित समाचार