जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी



सर्लाही ।  ईश्वरपुर नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन्। घर नजिकैको सागरनाथ जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वडा नम्बर १ का रजनसिंह दनवारको परिवारका सात जना बिरामी परेका हुन्।  बिरामी पर्नेमा ६० वर्षीय रजनसिंह दनवार, उनका छोराहरु २७ वर्षीय राकेश र २५ वर्षीय राजेश, छोरी १५ वर्षीया पुनिताकुमारी, बुहारी ३५ वर्षीया चन्दा, नातिनी १० वर्षीया सोनीकुमारी र नाति आठ वर्षीय जेयान रहेको केशरगंज प्रहरीले जनाएको छ।

मंगलबार बेलुका च्याउको तरकारी खाएर सुतेका उनीहरु मध्यरातमा बान्ता गर्ने र रिँगटा लाग्ने भएपछि तत्कालै आफन्तको सहयोगमा उपचारका लागि बयलवास बजारस्थित स्वास्थ्य संस्थामा ल्याइ प्राथमिक उपचार गरिएको प्रहरीले बताएको छ। उनीहरुलाई थप उपचारका लागि बुधबार बिहान अञ्चल अस्पताल जनकपुर पठाइएको छ।

तीन दिनअघि मात्रै ईश्वरपुर नगरपालिका–११ मा बाँसघारीमा उम्रिएको च्याउको तरकारी खाँदा एकै परिवारका १२ जना बिरामी परेका थिए। तीमध्ये ११ जनाको अहिले पनि अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार