दशै भन्दा रुदाक्षको चटारो



बोटबाट झारिएको रुद्राक्ष सङ्कलन गरिदै । 

सङ्खुवासभा, असोज १६ गते । रुद्राक्ष ब्यवसायी अर्जुन न्यौपाने यतिबेला दशैको चाँजोपाजो भन्दा पनि रुद्राक्ष ब्यवस्थापनको चिन्ता छ । लाखौ रुपैयाँ लगानी गरेर ठेक्कामा लिएको रुद्राक्ष टिप्नु र प्रसोधनको काम भ्याई नभ्याई छ ।

उहाँ मात्र होईन यो बेला सवै रुद्राक्ष ब्यावसायीहरु दशै भन्दा पनि रुद्राक्षको चटारोले बढी च्यापेको छ । रुद्राक्ष टिप्ने बेलामा अन्यत्र समय दिए लाखौको नोक्सानी हुने भएकोले रुद्राक्षलाई नै बढी समय दिनु परेको ब्यवसायीहरु बताउछन् । रुद्राक्ष टिप्ने, गुम्साउने र धुने काममा बढी समय लाग्ने भएकोले भएकोले यसमा बढी समय दिनु परेको उनीहरुको भनाई छ । अहिले रुद्राक्ष सङ्कलन र भण्डारणको समय भएकोले चार्ड पर्व भन्दा पनि मुख्य पेशालाई नै प्राथमिकता दिनु परेको ब्यावसायी न्यौपाने बताउनुहुन्छ । पाकेको रुद्राक्षलाई बेलैमा नटिपे चोरी हुनसक्ने भएकोले तत्काल टिप्नु परेको उहाँले बताउनुभयो ।

बोटबाट टिपिसेको रुद्राक्षलाई बेलैमा नधोए गुणस्तर खस्कने रुद्राक्ष ब्यावसायी सन्तोष कुलुङको भनाई छ । दाना टिपेको बढीमा ५ दिनसम्म गुम्साएर पानीमा पखाल्नु पर्ने र ब्रस लगाएर सफा गर्नु पर्ने उहाँले जानकारी दिनुभयो । यसरी एक चरणमा टिपिएको रुद्राक्ष पुर्णरुपमा सफा बनाई बेच्न योग्य बनाउन करिव १५ दिन लाग्ने कुलुङले बताउनुभयो । धेरै बोट ठेक्का लिएका ब्यावसायीहरुको दैनिकी रुद्राक्ष बगान र भण्डारणमा नै बित्ने गरेको छ । अहिले पर्याप्त समय दिए मात्र राम्रो मुनाफा लिन सकिने ब्यावसायीहरुको भनाई छ ।

ब्यावसायीहरुले रुद्राक्ष टिप्ने र धुने सिपालु जनशक्ति नभएको बताउने गरेका छन् । बोटमा चढ्न र धुनको लागि त्यस सम्बन्धी ज्ञान हुनु पर्ने भएकोले दक्ष जनशक्ति पाउन मुस्किल रहेको रुद्राक्ष ब्यावसायी सन्तोष योञ्जनको भनाई छ । राम्रो गुणस्तरको रुद्राक्ष जो कोहीलाई दिन समेत गाह्रो भएकोले आफुले पर्खेर बस्नु पर्ने योञ्जनको भनाई छ । कसैले २५–३० दाना मात्र बोकिदिए हजारौ रुपैयाँसम्म नोक्सान हुने योञ्जनको भनाई छ । ब्यावसायीहरुका अनुसार पाँचमुखे रुद्राक्ष प्रतिकिलो तीन हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्ममा विक्रि हुने गरेको छ ।

सङ्खुवासभामा हाल समिति र समिति बाहिरका गरि करिव ३० भन्दा बढी रुद्राक्ष ब्यावसायीहरु रहेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिसुङ्केले जानकारी दिनुभयो । अधिकांस ब्यावसायीहरुले कृषकहरुबाट निश्चित समयको लागि ठेक्का लिने गर्छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटको लागि सम्झौता गरेर किसानहरुलाई एक मुष्ट रकम दिने गरेको अध्यक्ष बिसुङ्केको भनाई छ । जिल्लामा प्रतिबोट बार्षिक तीन हजार रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्मको ठेक्का लागेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार