सिलिचोङको एम्बुलेन्स खाँदबारीलाई दिने भनेपछि जिससलाई ज्ञापनपत्र




सङ्खुवासभा, असोज १० गते । अरुण तेश्रोले प्रभावित क्षेत्रलाई दिने भनिएको एम्बुलेन्स सिलिचोङलाई नदिई खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि जनप्रतिनिधीहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका प्रमुख रामबहादुर कुलुङ, वडा अध्यक्ष मोहन संशेर कुलुङ लगायतको टोलीले बुधबार समन्वय प्रमुख सुमन शाक्यलाई ज्ञापन पत्र बुझाएका हुन् ।

मकालु, चिचिला र सिलिचोङ गरि तीन प्रभावित गाउँपालिकालाई दिने भनिएको एम्बुलेन्स सिलिचोङ बाहेकका दुई स्थानीय तहहरुले चावी समेत बुझिसकेको अवस्थामा सिलिचोङको नाम हटाएर खाँदबारीमा राख्ने निर्णय दुखद रहेको गाउँपालिका प्रमुख कुलुङको भनाई छ । डाक्टरको दरबन्दी समेत रहेको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भईरहेको गाउँपालिकामा विभिन्न बहानामा सुविधा कटौती हुनुले विभेदपुर्ण ब्यावहार देखाएको भन्दै यस विषयको समन्वय गरिदिन पत्र मार्फत अनुरोध गरिएको छ । पत्रमा भनिएको छ ‘गाउँपालिकादेखि बुम्लिङटार स्थीत अरुण पुलसम्म निर्बाध रुपमा यातायात सञ्चालनमा छ, अरुण पारीदेखि खाँदबारीसम्म पनि यातायात सञ्चालनमा रहेकोले एम्बुलेन्स सहजै सञ्चालन गर्न सकिन्छ ।’ अरुणपारीको नागरिकहरुलाई दिईने सेवा कुनै हालतमा कटौती गर्न नहुने कुलुङको भनाई छ ।

यसरी सिलिचोङको नाममा आएको एम्बुलेन्स खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि सामाजिक सञ्जालहरुमा सर्वत्र विरोध सुरु भएको छ । जनप्रतिनिधीहरुले आफुले सेवा दिनुको साटो विभिन्न निकायबाट प्राप्त भएको सुविधाबाट समेत बञ्चित गरेको आरोप लगाएका छन् । हरेक हिसावले पिछडिएको क्षेत्र सिलिचोङलाई राजनितिक दलका नेता र जनप्रतिनिधीहरुले चुनावको बेला मात्र सम्झिने, अरु बेला वास्ता नगर्ने भन्दै दुखेसो पोख्न थालेका छन् । कतिपयले आफुहरुलाई गरेको अन्याय बिरुद्ध जस्तो पनि कदम उठाउन तयार हुनुपर्ने बताएका छन् । त्यस्तै, कतिपयले अर्को चुनावमा हिसाव किताव मिलाउने समेत सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, यता जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भने त्यस्तो ब्यावहार नगरिएको दावी गर्नुभयो । त्यस बेला पनि आफुले सिलिचोङको एम्बुलेन्स सिलिचोङलाई नै दिनपर्ने अडान राखेपनि सडक सञ्जाल नरहेको भनिएपछि खाँदबारीमा राख्ने निर्णय भएको बताउनुभयो । अरुण तेश्रोले पनि तुम्लिङटार खाँदबारी चल्ने गरि खाँदबारीमा राख्ने चाहना राखेकोले त्यो निर्णय भएको उहाँले बताउनुभयो । प्रमुख शाक्यले ज्ञापन पत्र बुझ्दै एम्बुलेन्स सिलिचोङलाई नै हुने गरि विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । दुई गाउँपालिकाहरु मकालु र चिचिलाले एम्बुलेन्सको साँचो समते बुझिसकेको तर खाँदबारीले अझै बुझ्न बाँकी रहेकोले उक्त एम्बुलेन्स सिलिचोङलाई फर्काउन आफु लागिपर्ने आश्वासन दिनुभयो । प्रमुख शाक्यले भन्नुभयो, ‘ढुक्क हुनुहोस, सिलिचोङले त्यो एम्बुलेन्स पाउँछ ।’

सम्बन्धित समाचार