जापानमा ६ दशकयताकै शक्तिशाली आँधी,जनजीवन निकै प्रभावित



काठमाडौं । जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ ।

जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगको आँधीका कारण जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । आँधीका कारण निकै ठूलो वर्षा भएपछि करिब ६० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न अधिकारीले चेतावनीसमेत जारी गरेका थिए ।

‘हगिबिस’ आँधीका कारण टोकियोको दक्षिणी क्षेत्रमा निकै ठूलो बाढी आएको छ । विभिन्न स्थानमा जमिन भासिँदै गएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेलसेवा आँधीले अवरुद्ध भएको छ । नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरूले प्रसारण गरिरहेका छन् । नागानो सहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति ४२७ घरपरिवारका १ हजार ४ सय १७ व्यक्तिलाई घर छाड्न आदेश दिइएको बताए ।

आँधीले अलपत्र परेका मानिसहरूलाई सेना तथा उद्धारकर्मीले हेलिकप्टरको सहायताले घरका छानाबाट निकालिरहेका देखिन्छन् । घरका झ्याल र बाल्कोनीबाट आँधीपीडितले उद्धारका लागि सेनालाई अनुरोध गरिरहेका देखिन्छन् । नगानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरूले बताएका छन् ।

आँधी प्रभावित क्षेत्रमा सरकारले करिब २७ हजार सैनिक तथा अन्य हजारौं उद्धारकर्ता राहत तथा पुनःस्थापनाका लागि खटिएका जनाएको छ । टोकियोको उत्तरतर्फ पर्ने कावागोयमा आपतकालीन उद्धारकर्ताले एक अस्पतालमा फसेका मानिसलाई उद्धार गरेका जनाइएको छ ।

सम्बन्धित समाचार