अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति



उदयपुर । किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति भएको छ। अदुवाको फल लाग्ने बेलामा एका एका देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो। कटारी नगरपालिका–११ गोठडाँडाँका ज्ञानबहादुर बस्नेत गाँउघरका रोपिको अदुवाको गाना कुहिएको बताउँछन। ‘यस भेगमा लगाइएको अदुवामा पाँच प्रतिशत बच्ने छ,’ उनले भने, ‘गाना कुहिने रोगले किसानले रोपेको बिउको लगानी समेत नउठ्ने भएको छ।’

उदयपुरमा करिब ३०० हेक्टर जग्गामा अदुवा खेती हुँदै आएको छ। अदुवामा लागेको गाना कुहिने रोगले किसान मारमा परेका छन्। जिल्लामा वार्षिक रुपमा चार हजार मेट्रिक टन अदुवा उत्पदान हुँदै आएको छ। त्यही अदुवाको फल नलाग्दै गाना कुहिने रोगले अहिले सखाप भएपछि किसान चिन्तामा परेका छन्।
कटारी नगरपालिकाको हर्देनी, मयाँखु, गोठडाँडालगायतका क्षेत्रबाट वार्षिक रुपमा झण्डै तीन करोड रुपैयाँको अदुवा बिक्री हुँदै आएको कटारी नगरपालिका–११ गोठडाँडाका स्थानीय किसान राजन राउतले बताए।

‘यहाँ बाँदरको समस्याले कुनै पनि खेती हुँदैन, अदुवाको मात्र खेती हुन्छ,’ उनले भने, ‘त्यही अदुवा कुहिँदा किसान मारमा परेका छन्।’  गाना कुहिने रोग देखा परेपछि कटारी नगरपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रसम्म पुग्दा पनि रोगको उपचार गर्ने विधि नपाएको किसानको गुनासो छ। अदुवा बेचेरै छोराछोरीको पढाई खर्च, नुनतेलादेखि घरयासी समस्याको टार्ने कृषक मर्कामा परेका छन्। आगामी दिनमा पनि कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले उपचारको विधि पत्ता नलगाए अदुवा खेती मासिने स्थानीय शंकर राउत बताउँछन्।

सम्बन्धित समाचार