१६ विदेशीलाई नागरिकता दिने ६ जना पक्राउ,दुई वडा अध्यक्ष सहित ४० जना फरार



झापा । जिल्ला प्रहरी कार्यालय झापाले १६ जना विदेशीलाई नागरिकता दिलाएको आरोपमा जनप्रतिनिधिसहित ४६ जनालाई भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको विषयमा ४६ जना संलग्न रहेकोमा हालसम्म ६ जना पक्राउ परेका छन्।  दुई वडा अध्यक्ष सहित ४० जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

विदेशीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडाध्यक्ष, स्थानीय र एजेन्ट गरी ४६ जनाको नाममा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरिसकेको छ यद्यपि ६ जना बाहेक अरु हालसम्म फरार छन्। तीमध्ये जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका-८ का वडासचिव लोकराज बराल, बिर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर नगरपालिका–१० का प्रेम तिम्सिना, भद्रपुर–१० धनुषमोडका बिकेन्द्र भन्ने भीमबहादुर लिम्बु र बिर्तामोड ५ का मुस्तफा आलमलाई पक्राउ गरिसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको उनले बताए।

हाल पक्राउ पुर्जी जारी भएका र फरारको सूचीमा रहेकाहरु बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशी, जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, भद्रपुर नगरपालिका–९ का वडासचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने रहेका छन्।

झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले फरार जनप्रतिनिधि र कर्मचारी पक्राउ गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको बताए।
भदौ १३ मा पक्राउ पुर्जी जारी भयो। पुर्जी जारी हुनुअघि नै कतिपय आरोपी भने विभिन्न बहानामा फरार छन्।  भद्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शनिलाल राजबंशी ३ महिना अगाडि विराटनगरको नोबेल अस्पतालमा उपचार गराउन हिंडेका थिए। वडा अध्यक्षको कार्यभार वडा सदस्य रामप्रसाद दाहाललाई सुम्पिएर उनी पुन उपचारका लागि भन्दै हिंडेको कार्यबाहक वडा अध्यक्ष दाहालले बताए।

उक्त वडाकी वडा सचिव अरुणा भट्टराई पनि यो घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको छ। हाल उनी तीजमा इलाम (माइती) गएपछि कार्यालय फर्किएकी छैनन्।

विर्तामोड नगरपालिका-८ का वडा अध्यक्ष अजय कार्की भने जेठदेखि फरार छन्। कार्की पनि उपचार गराउने भन्दै वडा सदस्यलाई कार्यबाहक दिएर हिँडेका थिए।
नागरिकता काण्डमा मुछिएका व्यक्तिलाई पक्राउ गरी मुद्दाको अनुसन्धान गर्नुपर्ने भएको र फरार कसुरदारहरू उपर झापा जिल्ला अदालतबाट गत भदौ १३ मा पक्राउ अनुमति प्राप्त भइसकेको प्रहरी कार्यालय झापाको पत्रमा उल्लेख छ।

प्रहरीका अनुसार १६ विदेशीलाई नेपाली नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेले सनाखत गराएका थिए। अधिकृत गौरब ढुङ्गेलले सही गरेर नागरिकता जारी गरेको सिआइबीको छानबिनबाट खुलेको छ। पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापा अगाडि फोटोकपि, प्रिन्ट लगायतका सामान राखेर वर्षौदेखि पसल सञ्चालन गर्दै आएका भद्रपुर नगरपालिका ९ का सूर्य खड्का भनिनेको पसल पनि ३ महिनादेखि ताला लागेको छ। खड्का ४ महिनादेखि नै फरार छन्। विदेशीलाई नागरिकता दिलाउन कर्मचारीसँगै खड्काको पनि महत्वपूर्ण हात रहेको अनुसन्धानबाट खुलको प्रवक्ता श्रेष्ठले बताए।

सम्बन्धित समाचार