दसैंको अवधिमा प्रदेश १ मा ६१ दुर्घटना: १३ को मृत्यु, २५ सवारीलाई कारबाही



इटहरी। दसैंको अवधिमा प्रदेश १ मा विभिन्न स्थानमा ६१ वटा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा परेर कुल १३ जनाको मृत्यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रबक्ता राजेश राईका अनुसार असोज १२ गते घटस्थापनादेखि असोज २६ गते पूर्णिमासम्म भएको सवारी दुर्घटनाको यो तथ्यांक हो । दुर्घटनामा ६० जना गम्भीर घाईते र ७६ जना सामान्य घाईते भएको पनि उनले जानकारी दिए । ‘मृत्यु र घाईते हुनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्,राईले भने । प्रवक्ता राईका अनुसार ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीलाई कारबाही पनि गरेको जानकारी दिए ।

उनका अनुसार दसैँको बहाना बनाएर बढी भाडा लिने २५ वटा सवारी कारबाहीमा परेका छन् । बढी भाडा लिने र ट्राफिक प्रहरीको नियम उल्लघंन गर्ने सवारीबाट ३३ हजार रुपैँया राजश्व समेत संकलन भएकोछ । राजश्व गत बर्षको तुलनामा भने कम हो । गत बर्षको दसैँमा भने ३५ वटा सवारी चालकलाई कारबाही गरिएको थियो भने ३८ हजार रुपैँया राजश्व संकलन गरिएको थियो ।

गत बर्ष असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म ५० वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ४१ जना गम्भीर घाईते भएका थिए । त्यस्तै सो दुर्घटनामा ७७ जना सामान्य घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए । ‘गत बर्षको तुलनामा अहिले दुर्घटनाको संख्या बढेको भएपनि आर्थिक बर्षमा भने दुर्घटनामा ज्यान गुमाउँनेको संख्या पचास प्रतिसत कम भएको छ,’ एसपी दाहालले कपुरीसँग भने ।

एसपी दाहालका अनुसार आँफूहरुले अहिले ट्राफिक सचेतना समेत गराउँदै आएकाले पनि दुर्घटना कम भएको छ । दसैँको अवसर पारेर केही साता अगाडि मात्र उत्कृष्ट सवारी चालकलाई सम्मान समेत गरेको बताउँदै प्रदेश १ का अधिकांश ठाउँमा ट्राफिक सचेतना गराएकाले पनि दुर्घटना न्यूनिकरण भएको जानकारी दिए ।

सम्बन्धित समाचार