एकल महिलाहरूसँगै मिलेर व्यावसायिक तालिम उत्पादन



दमक ।झापाको दमक-५ की खेमकुमारी ओलीको दैनिकीमा केही समययता परिवर्तन आएको छ। अरुवेला सधैं घरमै हुने उनी अचेल दिन भरि स्यानीटरी प्याड उत्पादन गर्छिन्। केही समयको तालिम पछि उनी अन्य एकल महिलाहरूसँगै मिलेर यसको व्यावसायिक उत्पादनमा लागेकी हुन्। उत्पादन गरेपछि कहाँ बेचौँला भन्ने तनाव पनि छैन।

यसको सबै जिम्मा नगरपालिकाले लिएको छ। उनी मात्रै होइन, उनीजस्ता एकल महिलाहरू अहिले संयुक्त रूपमा यसको व्यावसायिक उत्पादनमा लागेका हुन्। यहाँका एकल महिलाहरू उद्यमशिलताका लागि संगठित भएका हुन्। उनीहरूले एकल महिलाको सञ्जाल गठनसँगै आयमूलक काम शुरु गरेका छन् भने त्यसबाट प्राप्त आम्दानीलाई नियमित बचतमा समेत सञ्चित गर्न थालेका छन्।

सामूहिक रूपमा प्याड उत्पादन गर्नुपूर्व डेढ दशकदेखि घरैमा टेलर्स व्यवसाय गरेरसमेत नियमित आम्दानी गर्दै आएको उनले बताइन्। सीप र आम्दानी नभएका महिलाहरूलाई भने संयुक्तरूपमा उद्यम शुरु गरेपछि आत्मविश्वास पनि बढेको छ। घरमा दिन भरि त्यसै बस्नु भन्दा यहाँ आए पछि सीप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको दमक-१० की अम्बिका श्रेष्ठले बताइन्।

समूहमा २९ वर्षदेखि ६५ वर्षसम्मका एकल महिलाहरू आवद्ध छन्। उमेर र अनुभवको विविधताले पनि समूहमार्फत एक अर्काका अनुभव आदनप्रदान, सीप आदान प्रदान र उद्यम सञ्चालनका लागि पनि सामूहिक भावना जागेको समूहकी संयोजक सावित्रा प्रसाईंले बताइन्। सामूहिक रूपमा सीप सिकेको र उद्यमका लागि पनि सामूहिक रूपमा अभ्यास गरिरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार