हाँस चोरी गर्दा तीनजना बालक पक्राउ,जरिवाना तिर्न नसक्दा सामाजिक बहिस्कार



विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको  मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ ।तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ सरदारको घरबाट सोही गाउँका ६ जनाले तीनवटा हाँस चोरी गरेका थिए ।

राति करिब १२ बजे चोरी गर्दा तीनजना बालक पक्राउ परेका थिए । उनीहरुमाथि सोधपुछ गर्दा अरु तीनजना पनि संलग्न देखिएपछि स्थानीयको भेलाले ६ जनालाई जनही पाँच हजारका दरले जरिवाना सुनाएको स्थानीय दलकुमार ठाकुरले बताए ।

एक महिनामा जरिवाना तिर्ने सहमति गरेका उनीहरुले जरिवाना नतिरेपछि गाउँमा अन्य व्यक्तिको घर प्रवेशमा रोक ठाकुरले बताए ।ठाकुरका अनुसार चोरी गर्नेहरु १२ वर्षदेखि २५ वर्ष उमेर समूहका छन् । रंगेहात पक्राउ परेका तीन बालक भने १५ वर्ष मुनिका छन् ।

गत भदौमा स्थानीयको भेलाले ६ जनालाई एक महिनाभित्र जरिवाना तिर्न मौखिक आदेश दिएको थियो । तर ३० हजार तिर्न नसकेपछि कटहरी ७ रुडीया टोलका ललिता यादव, बुजीया सरदार, टिकवा सरदार, गीता सरदार, राजकुमारी सरदार, लगनी सरदार र मंजादेवी सरदारको परिवार बहिस्कारमा परेको हो ।

असोज २८ गतेबाट सात परिवारलाई गाउँका ९३ घरमा प्रवेश गर्न रोक लगाएको हो । स्थानीय अगुवा समेत रहेका ठाकुरका अनुसार प्रतिबन्धको लिखित निर्णय भने भएको छैन ।

सात परिवारले उक्त टोलको कुनै घरमा जान नपाउने, पसल, मिल, कलमासमेत जान नपाउने गरी बन्देज लगाएको पीडित परिवारकी मञ्जादेवी सरदारले बताइन् । समाजले उनको छुट्टिएर बसेका छोरालाईसमेत बहिस्कार गरेको छ । सामाजिक बहिस्कारमा परेपछि उनी बुधबार न्याय माग्दै कटहरी गाउँपालिकाको कार्यलयमा आएकी थिइन् ।

आइतबार पनि पीडित महिलाहरु गाउँपालिका पुगेका थिए । गाउँपालिका अध्यक्ष रामकुमार कामतले छलफल गराउन भनेपछि प्रहरी चौकी थलाहाले दुबै समूहलाई बोलाएर छलफल गराएको थियो । आइतबार भएको छलफलमा स्थानीय भद्र भलादमीका तर्फबाट उपस्थित भएका व्यक्तिहरुले निर्णय उल्टाउन नसक्ने बताउदै छलफल बहिस्कार गरेका थिए ।

सम्बन्धित समाचार