रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदै



काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा आज उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदैछ ।जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदन तथा जिल्ला अदालतकै आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हालेको पुनरावेदनमाथि एकैपटक सुनुवाइ हुन लागेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासको तेस्रो नम्बरमा यो मुद्दा पेसीमा छ । यसअघि जिल्ला अदालत चितवनले यो मुद्दामा रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

यो फैसलाविरुद्ध लामिछानेले भदौ २३ गते उच्च अदालतमा आफूहरुलाई पनि बिना धरौटी साधारण तारेखमा रिहा गरिनुपर्ने मागसहित पुनरावेदन गरेका थिए । लगत्तै भोलिपल्ट २४ गते जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरुलाई धरौटीमा समेत नछाडी पुर्पक्षका लागि थुनामै पठाउन मागसहित पुनरावेदन गर्यो । यिनै दुई पुनरावेदनको आज सुनुवाइ हुन लागेको हो ।

पुनरावेदनमा यसअघि भएको सुनुवाइमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए ।

जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए । उच्च अदालतमा आज हुने सुनुवाइले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ । जिल्लाले गरेको फैसला बदर गर्ने वा सदर गर्ने निर्णय उच्चले गर्नेछ ।

सम्बन्धित समाचार