तरकारीको बोरामा हालेर भारतबाट पटाका ल्याउँदै गरेका एक भारतीय पक्राउ



पर्सा। दीपावली र छठ पर्वलाई लक्षित गरी अवैधरुपमा तरकारीको बोरामा हालेर भारतबाट पटाका ल्याउँदै गरेका एक भारतीयलाई सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेको छ।  भारतमा सस्तो मूल्यमा खरिद गरी नेपालमा महँगो मूल्यमा बिक्री गर्न तरकारीको बोरामा राखी सीमा कटाई सकेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने भारतको मोतिहारी जिल्ला बच्कौरा २ बस्ने २५ वर्षीय राकेश कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए।  कुशवाहाले तरकारीको बोरा भित्र तरकारी ल्याए जस्तो गरी अवैधरुमा विष्फोटक पटाका ल्याउँदै गर्दा समातिएका हुन्। प्रहरीलाई समेत झुक्याउन खोजेपछि शंका लागि चेकजाँच गर्दा तरकारीको बोराभित्र पटाका फेला परेको हो।

पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ।  अघिल्ला वर्ष दीपावली र छठ पर्वका लागि भारतबाट ल्याइने पटाकाका नाममा विष्फोटक पदार्थ पनि नेपाल भित्रिने गरेको प्रहरी अनुसन्धानका क्रममा फेला परेको थियो।

यो वर्ष भने प्रहरीले कडा निगरानी बढाउँन थालेपछि तरकारीको बोरामा पटाका फेला पर्नुले अन्य विष्फोटक पदार्थ पनि सीमा क्षेत्रबा भित्रिन सक्ने प्रहरीले आशंका गरेको छ। अझ ठूला आयातकर्ताका ठूला सवारी साधानबाट नेपाल भित्रिने पटाकासँगै अन्य विष्फोटक पदार्थ छिर्ने डरले प्रहरीलाई टाउको दुखाइ बनेको छ।

सम्बन्धित समाचार