हिलेबजारकाे न्यूरोडमा निर्माण गरिएको बुद्धपार्कको उद्घाटन



धनकुटा ।धनकुटा नगरपालिका–१, हिलेबजारकाे न्यूरोडमा निर्माण गरिएको बुद्धपार्कको बिहीबार उद्घाटन गरिएको छ ।

पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले धनकुटा नगरपालिका कार्यालयको ११ लाख र १ नम्बर वडा कार्यालयको ५ लाख गरी १६ लाख रुपैयाँ बराबरको लगानीमा‍ पार्क निर्माण गरिएको हो । झण्डै अढाई वर्ष लगाएर निर्माण गरिएको बुद्धपार्कको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएकाे हाे ।

बुद्धपार्कको उद्घाटन गर्दै नगर प्रमुख तामाङले धनकुटाको हिले आफैँमा पर्यटन र व्यापारिक केन्द्रको रुपमा स्थापित भइसकेकाले थप पर्यटक कसरी भित्र्याउने भन्ने उद्देश्यको साथ पर्यटकको गन्तव्यस्थल बनाउन बृद्धपार्क निर्माण गरिएको बताउनुभयाे ।

हिलेबजारलाई सुन्दर र सम्मुनत बनाउनको आउँदाे आर्थिक वर्षमा बजारका विभिन्न ठाउँमा अरु पार्कहरु पनि निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताउँदै प्रमुख तामाङले वडाको विकासको लागि वडामा छुट्टिएको बजेट र नगरपालिकाको सोझै लगानीबाट पार्क बाहेक अन्य भ्यूटावर लगायतका पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भौतिक पूर्वाधारहरु निर्माण गरिने जानकारी दिनुभयाे ।

वडा नम्बर-१ का वडाध्यक्ष निरेन तामाङले वडा कार्यालय, नगरपालिका र स्थानीय जनश्रमदान गरी करिब २० लाखको लगानीमा बुद्धपार्क निर्माण गरिएको बताउँदै पार्क निर्माणले हिलेबजारको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । धनकुटा नगरपालिका र वडा कार्यालयको आर्थिक वर्ष २०७४/०७५, ०७५/०७६ को बजेट कार्यक्रम अनुरुप बुद्धपार्क निर्माण सम्पन्न गरिएको थियो ।

प्रदेश नम्बर-१ कै पर्यटकीय गन्तव्यस्थलको रुपमा स्थापित तोङ्वा र सुकुटीको शहर हिलेबजारले पर्यटकहरुलाई तान्ने गरेको छ । पहाडी क्षेत्रकै प्रमुख प्रवेशद्धारको रुपमा रहेको र धनकुटा बजारबाट १३ किलोमिटर उत्तरमा  रहेकाे हिलेबजार हुदै संखुवासभा, तेह्रथुम, पाँचथर तथा भोजपुरलगायतका जिल्ला जान सकिन्छ ।

बादलुको घुम्टोसँगै छिन छिनको मौसम परिवर्तनका कारण रम्न रमाउन सकिने हिलेबजार पछिल्लो समयमा आएर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्यस्थलको रुपमा स्थापित हुँदै आएको छ ।

सम्बन्धित समाचार