भोजपुरबाट बिक्रीको लागि चतरातर्फ खसी बोका लादै गर्दा प्रहरीले दुःख दिएको व्यापारीको गुनासो



धरान। भोजपुरबाट बिक्रीको लागि चतरातर्फ ल्याउदै गरेको खसी बोकालाई बराहक्षेत्र मन्दिर नजिक झोलुङ्गे पुलमा रोकेर प्रहरीले दुःख दिएको व्यापारीहरुले गुनासो गरेका छन् ।

बराहक्षेत्र मन्दिर उत्तरको पुलमा पार गर्न नदिई प्रहरीले दुःख दिइरहेको व्यापारीहरुको गुनासो छ । आज साँझ भोजपुरबाट ६ जना व्यापारीले ल्याएको ६६ वटा खसी बोकालाई प्रहरीले पुल पार गर्न नदिएर दुःख दिएको व्यापारी जंग कार्कीले बताए । उनका अनुसार झण्डै १ घण्टासम्म प्रहरीले उनीहरुलाई पुल पार गर्न दिएनन् । ‘पुजाको लागि खसी देउ भन्दै रोके, हामीले झगडा नै गर्यौं । एक घण्टा जति रोक्यो,’कार्कीले भने,‘हामी भन्दा अघि र पछि कसैलाई पनि रोकेनन् ।’ अर्का व्यापारी हफाज मियाँले पनि आधा दाममा खसीबोका किन्न माग्ने र दुःख दिने गरेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता विनोद शर्माले सिमा क्षेत्रबाहेक अन्यत्र खसीबोका ओसारपसारमा रोक नलगाएको बताए ।

सम्बन्धित समाचार