जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल



झापा। जिल्लामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ। बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए।

धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उनले बताए। सो साइरन भद्रपुर नगरपालिका–१ का युवा वैज्ञानिक अनिल प्रधानले बनाउए। सो ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएसँगै यसबारे स्थानीय तहमा जानकारी दिन थालिएको छ। भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायत क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाए।

ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्छ। हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालयबाट कसैले अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्डभित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाउने व्यवस्था छ।

सम्बन्धित समाचार