नेपालीको हत्या गरी भागेका भारतीय नागरिक समातिए



रूपन्देही ।रुपन्देहीको रोहिणी गाउँपालिका-३ बैकुण्ठपुरमा एक महिनाअघि गोली प्रहार गरी रकम लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।  लुटेरा समूहका ती व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार साँझ ८ बजेको समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिकाको-८ स्थित हिमालयन बैंकबाट गत भदौ २९ गते दिउँसो पाँच लाख रूपैयाँ निकालेर घर जाँदै गरेका ओमसतिया गाउँपालिका पटखौली निवासी महेन्द्रकुमार कुर्मीलाई गोली हानी रकम लुट्ने समूहका सुटरलाई प्रहरीले नेपाल-भारत सीमाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त दिन पत्नी लक्ष्मी पाशी र दूधे बालकसहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर ओमसतियातर्फ जाने क्रममा रोहिणी गाउँपालिका-३ बैकुण्ठपुरस्थित हुलाकी सडकमा मोटरसाइलमा पिछा गर्दै आएका लुटेराको समूहले दिउँसो २ बजे कुर्मीको गोली हानी रकम लुटेका थिए।

प्रहरीले उक्त हत्या तथा लुटपाटको घटनामा सङ्लग्नहरू भारतबाट नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने सूचनाका आधारमा बुधबार ८ बजेको समयमा विशेष अनुसन्धान टोली जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ स्थित मेउडिहवा फुलपुरमा खटिएको थियो।  त्यहाँ जाँच गर्ने क्रममा सेतो रङ्गको हेलमेट लगाई युपी ५३ डिबी ९९८३ नम्बरको कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका भारतको गोरखपुर थाना कम्पियरगञ्ज मछरी गाउँ बस्ने वर्ष ४० को मनिष हरिजन (चमार) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार