भारतको सीमा नाकाबाट अवैध चाँदीसहित एकजना पक्राउ



बारा। भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका ६ सतुवाही नाकाबाट १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट गोलागन्जबाट खटिएको प्रहरीको टोलीले साहलाई विशेष सुराकीको आधारमा शुक्रबार बिहान १९ किलो एक सय ग्राम चाँदीसहित नियन्त्रणमा लिएको हो। भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिए।

बरामद चाँदीको बजार मूल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

सम्बन्धित समाचार