प्रहरीमाथि बलात्कारको आरोप



सुनसरी। सुनसरीमा एकजना प्रहरीमाथि बलात्कारको आरोप लागेको छ ।धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।

‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ ।शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

श्रीमान्को मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।

ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

सम्बन्धित समाचार