चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा बाख्रा विज्ञको सम्मेलन हुने



चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा कात्तिक ३ गतेदेखि एसिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ। ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ कात्तिक ६ गतेसम्म तीन दिन हुने बाख्रा विज्ञको सम्मेलनको तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालय रामपुरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो। सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्यानडा, क्युबा, जापान, हंगेरी, इटाली, इन्डोनेसिया, फ्रान्स, केन्या, अष्ट्रेलिया, स्पेन, फ्रान्सलगायत १७ देशका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान दिएका सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी, विद्यार्थी र किसान प्रतिनिधिको सहभागिता रहने मूल आयोजक समिति अध्यक्ष प्राडा. शारदा थपलियाले जानकारी दिए।

सम्मेलनमा करिब ४ वटा विशेष कार्यपत्र, १० वटा आमन्त्रित, ६० बढी मौखिक र ४३ वटा पोस्टर गरी ११७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ। सम्मेलनमा विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १७ देशका करिव ३०० जनाको सहभागिता रहने आयोजक समितिका सदस्य सचिव सह प्राडा. निराजन भट्टराईले जानकारी दिए।

सम्मेलनमा बाख्रामा लाग्ने पीपीआर रोग र त्यसको नियन्त्रण, बाख्रा पालन र भ्याक्सिन व्यवसायमा महिला सहभागीता जस्ता विषयमा विज्ञबीच छलफल पनि हुने छ। सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको सम्मेलन गरिएको कृषि विश्वविद्यालय रामपुरले जनाएको छ। २०१८ अनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये सबैभन्दा धेरै १ करोड २८ लाख बाख्रा रहेको छ।

सम्बन्धित समाचार