तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान



काठमाडौं। यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्यांक छ। नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ।

आयातमा भने कमी आएको छैन। विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो। राजधानीवासीका लागि भाइ टीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै २० करोडको विभिन्न जातका फूल आयात भएको बताए।

फूलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन। चार वर्ष पहिले नेपालले भारतबाट चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्यांक पाइन्छ। तथ्यांकलाई  केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ।

नेपाली फूलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादन भने बढाउन सकिएको छैन। फूलखेती व्यावसायिक ढंगले शुरुआत भएको २५ वर्ष पुगेको छ। सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ।

सम्बन्धित समाचार