निवर्तमान महराले बयान दिन नमानेपछि म्याद थप



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा अनुसन्धानमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज फेरि म्याद थप गर्ने भएको छ । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले म्याद थपकाे तयारी गरेकाे हाे ।

म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छ। पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो । यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

सम्बन्धित समाचार