इलामको श्रीअन्तुमा खानेपानी समस्या



इलाम ।  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० गन्तव्यमध्येको एक श्रीअन्तुमा खानेपानी समस्या भएको छ। झुल्केघामसँगै हरियो चिया बगान र कञ्चनजंघाको दृश्यावलोकनका लागि प्रख्यात मानिएको अन्तुमा पर्यटकको चाप बढेसँगै खानेपानीको समस्या समेत बढ्दो छ।

यस क्षेत्रमा दिनहुँ सयौं पर्यटकको आगमन भइरहेका छ। पछिल्लो समय अन्तुका होटल र होमस्टेहरु थपिने क्रम बढेको स्थानीय व्यवसायी खगराज घिमिरे बताउँछन्। अन्तुडाँडाको भ्युटावर क्षेत्र र अन्तु पोखरी क्षेत्रमा खानेपानी हाहाकार भएको छ।

अन्तु पर्यटकीय क्षेत्रमा पानी आपूर्तिका लागि अन्तु खानेपानी आयोजना सञ्चालनमा आए पनि पुरानो संरचनाको मर्मत नभएकाले होटल तथा होमस्टेहरुमा पानी अभाव भएको हो। पर्यटक आउने क्रम बढ्दो रहे पनि पानी अभाव भएपछि व्यवसायीले पर्यटकका लागि प्याकिङमा आएको बोतलको खानेपानी प्रयोग गरिएको र शौचालय प्रयोगका लागि ट्याङ्करमा पानी ओसार्दै आएका छन्।

पर्यटकहरुका लागि प्रतिलिटर एक रुपैयाँका दरले खानेपानी खरिद गर्दै आएका छन्। अन्तु खानेपानीको संरचना पुरानो भएकाले धारामा पानी नआउने भएपछि केही होटल व्यवसायीले निजी बारीका धनीसँग मासिक भाडामा लिएर सिममा कुवा बनाई प्रयोग गर्दै आएको थ्री सिक्स्टी होटल क्याम्प फायरका प्रोपाइटर प्रज्वल प्रधानले बताउँछन्।

अन्तु पोखरी वरिपरिका होटल तथा होमस्टे सञ्चालकले नजिकैको सिमबाट मोटरको सहयोगमा पानी तानेर प्रयोग गर्न थालेका हुन्। पर्यटकको चाप बढ्दै गएपछि अन्तुको भञ्ज्याङ्ग क्षेत्रमा पनि पानीको समस्या सुरु भएको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताए।

सम्बन्धित समाचार