खोला दोहनमा प्रयोग गरिएको स्काभेटर टिपर नियन्त्रणमा



माेरङ । मापदण्ड विपरित खोला दोहनमा प्रयोग गरिएको एउटा स्काभेटर र आठवटा टिपरलाई मोरङ प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–४ इक्राही र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोलामा अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका स्काभेटर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खनन्का कारण इक्राही र बुकडोरी जोड्ने खोलामाथिको पुल जोखिममा परेको गुनासो आएपछि मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठको नेत्रृत्वमा टोली उत्खनन् स्थलमा पुगेको थियो ।

डीएसपी श्रेष्ठले खोला किनारमा ठूला–ठूला खाल्डा बनाएर उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर र टिपर नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार स्काभेटरले माटो उत्खनन् गरेर लोड गरेपछि टिपरको प्रयोग गर्दै ओसार्ने गरिएको पाइयो । प्रहरीले बा १ क ४९६२ नम्बरको स्काभेटर र को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । टिपर र स्काभेटरका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार