विप्लवका चार कार्यकर्ताले गरे पार्टी परित्याग,नेकपामा प्रवेश



भद्रपुर। झापामा बम विस्फोट र आगजनी गरेको आरोपमा पक्राउ परेका नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका चार जना कार्यकर्ता रिहा भएका छन्। अदालतमा धरौटी रकम बुझाएर रिहा भए लगतै विप्लवका चार जना कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मंगलबार साँझ प्रवेश गरेका छन्।

विप्लवका मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बु, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बु (सक्कल), जन मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्कीले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गर्दै नेकपामा प्रवेश गरेका हुन्।

नेकपामा प्रवेश गरेका चारै जना कार्यकर्तालाई नेकपाका झापा जिल्ला इन्चार्ज रविन कोइराला, केन्द्रीय सदस्य नरेश सन्जेल, सन्तोष आचार्य लगायतले पार्टीमा स्वागत गरेका थिए। यता रिहा भएका कार्यकर्तालाई आगजनी र बम विस्फोटसम्बन्धी दुई वटा मुद्दाअन्तर्गत प्रति मुद्दा ५० हजारको दरले झापा जिल्ला अदालतमा धरौटी रकम बुझाएको र बुधबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय झापामा उपस्थित हुने सर्तमा छाडिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा साउन ३२ गते दमक नगरपालिका ६ स्थित न्यु कञ्चन होटलबाट पक्राउ गरिएको थियो। उनीहरूसँगै पक्राउ परेका पाँचथर जिल्ला इन्चार्ज र मेची ब्युरो सदस्य २९ वर्षीय राजु दासको मुद्दा किनारा नलागेकाले उनी प्रहरी नियन्त्रणमै रहेका छन्। दास रिहा भएलगतै पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने बताइएको छ।

सम्बन्धित समाचार