बन्चरो प्रहारबाट चोट लागेका ६४ वर्षीय पहाडचन राजवंशीको मृत्यु,दुई वर्षपछि खुल्यो वास्तविकता



मोरङ ।मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँ झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरे । उनीमाथि बोक्सोको गम्भीर आरोप लगाइएको थियो । उनलाई गाउँलेहरुले पहाडचनले हेर्ने वित्तिकै मान्छे मरिजान्छ भन्ने अर्को संगीन आरोप पनि लगाएका थिए ।

हेर्ने वित्तिकै मान्छे मरिजाने भएकाले बोक्सो रहेको भन्दै गाउँलेहरुले उनलाई निक्कै ठूलो तनाव दिएर विस्थापित गराए । पछि स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनस्थापना गरिएको थियो । मलमुत्र खुवाउने र विस्थापित गराउनेमा स्थानीय हरिप्रसाद राजवंशी पनि थिए । उक्त घटनामा प्रहरीले हरिप्रसादसहित नौ जनालाई पक्राउ गरेर बोक्सी आरोपको कसूरमा मुद्दा चलायो । अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा हरिप्रसादको मृत्यु भयो । अचानक बिरामी परेर अस्पताल ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । परिवारले टुनामुना गरिदिएकै कारण हरिप्रसादको मृत्यु भएको भन्दै पहाडचनलाई दुरव्यवहार पनि गरे । विभिन्न डर र त्रासका कारण अनेक दुरव्यवहार सहेरै भए पनि उनी गाउँमै बसे । बोक्सो बनेर अनेक टुनामुना गरिदिएकाले परिवारको सदस्य गुमाउनु परेको भन्दै दुरव्यवहार भइरहे पनि सहेर कहीं कतै उजुरी पनि दिएनन् ।

तर कहानी यतिमै टुँगिएन । बोक्सोको आरोप लगाएर बर्बर यातना दिएको पाँच वर्षपछि पहाडचनको हत्या नै भयो । हत्यामा संलग्न थिए बोक्सोको आरोप लगाएर गाउँ निकाला गर्ने समूहको नेत्रृत्व लिएका हरिप्रसाद राजवंशीका छोरा भरतलाल । बोक्सीको टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै उनले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या नै गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

पहाडचन गाउँमा धामीझाँक्रीको काम गरेर फर्कदै गर्दा घटना भएको अनुसन्धानबाट खुलेको जानकारी उनले दिए । बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार