चार सय पशु वैज्ञानिकहरुको भेला पोखरामा हुने



काठमाडौं । पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्न करिब चार सय पशु वैज्ञानिकहरुको भेला पोखरामा हुने भएको छ । नेपाल, भारत, जापान, चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा सहित २४ देशका पशु वैज्ञानिकहरुले कात्तिक २२ देखि २५ सम्म पोखरामा अन्तराष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने नेपाल भेटेरिनरी एशोसिएसनले जनाएको छ ।

साना तथा मध्यम स्तरका कृषहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसे बालीहरुबारे सम्मेलनमा छलफल हुनेछ । यस्तै चरन व्यवस्थापन, पशु प्रजनन्, मत्स्य पालन, हिमाली क्षेत्रका याकको संरक्षण र व्यवव्स्थापनका विषयमा भएका अनुसन्धानहरु सम्मेलनको छलफलको मुख्य विषय हुने नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर तथा न्यूनीकरणबारे पनि बहस हुनेछ । सम्मेलनको मुख्य वक्ताका रुपमा अष्ट्रेलियाका प्रध्यापक डा.पिटर वयान र अमेरिकाबाट महेन्द्र नाथ लोहनी हुनेछन् ।

यस्तै थप १० जना स्वदेशी १२ जना अन्तरराष्ट्रिय गरी २२ जना वक्ताले सम्मेलनमा आफ्नो अनुभव प्रस्तुत गर्नेछन् । सम्मेलनमा ६२ वटा नेपाली र ९५ वटा गरी १५७ वटा विदेशी वैज्ञानिकका कार्यपत्रहरु पनि प्रस्तुत गरिनेछ ।

नेपाल सरकार, पशु सेवा विभाग तथा गण्डकी प्रदेश सरकारको संयोजनका सम्मेलन हुन लागेको हो । सम्मेलनलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको नेपाल भेटेरिनरी एशोसिएसनले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

सम्बन्धित समाचार