प्रदेश १ मा फौजी किराको प्रकोप



विराटनगर । अमेरिकी फौजी किराको प्रकोपले प्रदेश १ मा कृषकले दुईहजार सातसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैबाली सखाप भएको छ । किराले प्रदेशका १० हजार ६७८ परिवारले दुई हजार ७१० हेक्टरमा लगाएको मकैबाली सखाप पारेको हो ।

गत जेठ २२ गते तेह्रथुमको म्याङ्लुङ नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलो पटक देखिएको फौजी किराको प्रकोप आठ जिल्लाका ३६ स्थानीय तहमा फैलिएको प्रदेश १ को कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

भदौ अन्तिमसातासम्म देखिएको फौजी किराले पाँचथरमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पाँचथरपछि ओखलढुंगा, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, उदयपुर र झापाका कृषक बढी प्रभावित छन् । कृषी बिकास निर्देशनालयका सूचना अधिकारी प्रकाशकुमार डाँगीका अनुसार, ओखलढुंगामा दुई हजार १८० कृषकले पाँचसय हेक्टरमा लगाएको मकै किराले नष्ट पारेको छ ।

त्यस्तै, उदयपुरमा १२९ कृषकले २२ हेक्टरमा लगाएको मकैबाली सखाप पारेको छ भने भोजपुरका ८०५ कृषकले २८९ हेक्टर र पाँचथरमा छ हजार ६३२ कृषकले एक हजार ३४५ हेक्टरमा लगाएको मकै किराले नष्ट गरेको छ । खोटाङमा ६६० कृषकले २२२ हेक्टर, धनकुटामा १८१ हेक्टर, तेह्रथुममा एकसय ४८ र झापामा ३ हेक्टर क्षेत्रमा लगाएको मकै बाली फौजी किराले सखाप बनाएको छ ।

सम्बन्धित समाचार