तीन तहको करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित



भद्रपुर । तीन तहको करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित बनेको छ।
सामुदायिक वन उपभोक्ता समूहलाई संघीय, प्रदेश तथा स्थानीय सरकारले छुट्टाछुट्टै कर लगाउने प्रस्ताव गरेको भन्दै सो प्रस्ताव खारेजीको माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित बनेको हो।

महासंघमा आवद्ध झापाका सामुदायिक वन उपभोक्ता समितिहरूले बिहीबार दिउँसो झापाको सदरमुकाम भद्रपुरमा बृहत् प्रदर्शन गरेका छन्। झापाका ५९ वटा सामुदायिक वनमा आवद्ध सयौं संख्यामा उपस्थिति रहेका उपभोक्ताहरूले हातमा ब्यानर र प्ले–कार्ड लिएर करविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

मेची रंगशालाअगाडि रहेको खुला चौरमा भेला भएका उपभोक्ताहरू ट्रेड युनियन चोकबाट सुरु गरिएको विरोध र्‍याली जिल्ला समन्वय समितिको बाटो हुँदै डिभिजन वन कार्यालय अगाडिबाट चन्द्रगढी बजार, लेखनाथ चोक हुँदै कोणसभामा परिणत भएका थिए।

प्रदर्शनकारीले सामुदायिक वनमाथिको आक्रमण बन्द गर, सामुदायिक वनलाई करको मारमा पार्न पाइँदैन, सामुदायिक वनमाथिको हस्तक्षेप बन्द गर, तेहेरो कर फिर्ता गर, नेपालको संविधान २०७२ ले प्रदान गरेको सामुदायिक अधिकार कार्यान्वयन गर, प्राकृतिक श्रोत र वित्तीय व्यवस्थापन आयोग मार्फत करको एकद्वार प्रणाली लागू गरलगायतका माग राख्दै नाराबाजी गरेका थिए।

सम्बन्धित समाचार