घरबाट हराएकी युवती पाँच वर्षपछि भारतको बिहारबाट उद्धार



सप्तरी ।पछिल्लो पाँच वर्षदेखि घरबाट हराएकी युवती विगत अढाई वर्षदेखि भारत बिहारको पूर्णियास्थित अल्पाबास गृहमा बसिरहेको यकिन भएपछि प्रहरीले समन्वय गरी उद्धारसँगै सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिका ३ की २० वर्षीया रिंकु भनिने रञ्जन कुमारी पासवानलाई अल्पबास गृहसँग समन्वय गरी फर्काएर नेपाल ल्याएपछि परिवारको जिम्मा लगाइएको हो।

पासवानलाई जिल्ला प्रहरी कार्यालयमार्फत् उनलाई आमा घुरनीदेवी पासवानको जिल्ला लगाइएको सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी तिलक भारतीले बताए। भारतीय राजदूतावास हुँदै प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको २०७६ साउन १३ गतेको आदेश अनुसार बालिकाको खोजी थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तालुक प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको च.नं. १४५, २०७६ असोज १५ गतेको पत्रअनुसार उद्धार गरी परिवारको जिम्मा लगाइएको हो। सप्तरीको बलानबिहुल गाउँपालिका ३ का धर्मदेव पासवान तथा घुर्नीदेवी पासवानकी कान्छी छोरी रञ्जन हराएपछि २०७४ वैशाख १० गतेदेखि अल्पाबास गृहमा बस्दै आएको यकिन भएपछि बुधबार सप्तरीका प्रहरीका सइ चन्द्रबहादुर केरुङको कमाण्डमा महिला प्रहरी र परिवारका सदस्यहरुसहित पूर्णिया पुगेर रञ्जनको उद्धार गरी जिम्मा लगाइएको हो।

परिवारसहित गएको प्रहरीको टोलीले भारत पुगेर अल्पाबास गृहसँग समन्वय गरेपछि युवती र आमा घुरनीदेवीले चिनेको आधारमा यकिन गरी असइ सामवती राजवंशीको रोहवरमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार