बैंकबाट झिकिएको ४ लाख रुपैँया चोरी



सुनसरी । सुनसरीको इनरुवा नगरपालिका १ लोकतान्त्रिक चौकमा बिहिबार नगद ४ लाख चोरी भएको छ । इनरुवा १ लोकतान्त्रिक चौकमा रहेको युनिक टेलर्स तल सडकमै बिहिबार दिउँसो ४ लाख नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बैंकबाट ४ लाख रुपैँया निकाली झोला भित्र राखेको र घर जानका लागि मोटरसाईकलको लेगार्डमा झुण्डाईएको अवस्थामा सो रकम चोरी भएको हो ।

बिहिबार १२ः३० बजेको समयमा इनरुवा ९ का ईद्रिस अलिले राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाबाट ४ लाख नगद रुपैँया निकाली झोलाभित्र मोटरसाईकलको लेगार्डमा झुण्डाएर राखेका थिए । मोटरसाईकल स्टाट गर्न खोज्दा सडकमा ५–६ हजार रकम छरिएर रहेको देखिएपछी अलिले कसको पैसा हराएको हो भनि सोध्दा भिडभाड भएको र सोही क्रममा अलिले मोटरसाईकलको लेगार्डमा झुण्डाई राखेको ४ लाख नगद रुपैँया चोरी भएको पिडित अलिले बताए । इनरुवाको लोकतान्त्रिक चौक र युनिक टेलर्समा लागेको सिसीटिभी क्यामेरालाई समेत छलेर चोरले बिहिबार दिउँसो २ः१५ बजेको समयमा व्यस्त बजार बजारबाट नगद ४ लाख रुपैँया चोरेर निस्किएको हो ।

दुई दुई वटा सिसीटिभी क्यामेराको फुटेजलाई छलेर चोरले चोरी गर्न सफल भएको हो । दुबै सिसी क्यामेरा चोरी भएको समयमा केही समयको लागि बिग्रिएकोले चोरको पहिचान गर्न समस्या भएको पिडित अलिले बताए । इनरुवाको मुख्य व्यस्त बजारमा ४ लाख नगद रुपैँया चोरी भएको बिषयमा थप अनुसन्धान र चोरी गर्नेको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए । इनरुवामा पछिल्लो समय चोरी हुने क्रम बढेपछी यहाँका सर्वसाधरण र व्यापारीहरु त्रसित बनेको उद्योग बाणिज्य संघ इनरुवाका पूर्व अध्यक्ष प्रमोद कुमार आचार्यले बताए । व्यस्त बजारभित्रै चोरी हुने क्रम बढे पनि त्यसमा संलग्नहरु भने पक्राउ नपर्दा यसले सर्वसाधरण र व्यवसायीहरु सशंकित हुँदै गएको पूर्व अध्यक्ष आचार्यले बताए । इनरुवामा चोरीको घटना यो पहिलो भने होइन ।

सम्बन्धित समाचार