बालसुधार गृहका बालकहरुमा  स्वास्थ्य समस्या



हेटौंडा । हेटौंडा थाना भर्‍याङको बालसुधार गृहका बालकहरुमा  स्वास्थ्य समस्या देखिएको छ । आपराधिक घटनामा दोषी ठहर भएका र पुर्पक्षका लागि  पठाइएका बालबालिका राख्ने उक्त सुधारगृहमा पानीका कारण छालासम्बन्धी रोग देखिएको छ ।

पानीकै कारण बालकहरुको छालामा समस्या देखिएको उपमहानगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा सहभागी डा.  नेहा गुप्ताले बताइन् । छालाको समस्या देखिएका बालकलाई ट्यांकीको पानी सफा गरेर परीक्षण  गरेपछि  मात्र नुहाउन सल्लाह दिएको उनले जानकारी दिइन् ।

स्वास्थ्य परीक्षण गरिएका सबैमा पानीबाट हुने रोगको संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । सुघार गृहमा रहेका ५३ जना बालकहरुमा छाला चिलाउने, दाद, डाबर आउनेलगायतका समस्या देखिएको थियो । उनीहरुलाई निशुल्क औषधी पनि वितरण गरिएको छ ।

१८ वर्षमुनिको बालबालिका राख्ने सुधार गृहमा रहेका बालबालिकामा स्वास्थ्य समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायत पदाधिकारी पनि सुधार गृहमा पुगेका थिए । बालबालिकाको स्वास्थ्य समस्या निदानका लागि पानीमा सुधार गर्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

मेयर महतले तत्काल पानी परीक्षणसहित अन्य काम गर्न नगर स्वास्थ्य शाखालाई निर्देशन दिएका छन् । खानेपानी प्रशोधन गर्न युरोगाडको व्यवस्था र नुहाउने पानी प्रशोधनका लागि पनि आवश्यक प्रबन्ध मिलाउन शाखालाई भनेका थिए । सुधार गृहमा इनार खनेर निकालेको पानी तान्नका लागि प्रयोग गरेको मोटर बिग्रदा ट्यांकीमा जमेको पानीमा समस्या आएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार