पैसा उठाउन हिँडेका अग्नि नियन्त्रकको शव फेला



पर्सा। वीरगन्जका बुनिलाल चौरसियाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ। वीरगन्जका चौरसियाको शव नगवा पोखरीको डिलमा फेला परेपछि वीरगन्जवासीको पर्व खल्लो बनेको हो। चौरसिया वीरगन्ज महानगरपालिका-१६ का स्थायी वासिन्दा र महानगरकै अग्नि नियन्त्रण महाशाखामा कार्यरत कर्मचारी हुन्। मृतक वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी बुनिलाल चौरसिया रहेको पर्सा प्रहरीले जनाएको छ।

‘मृतकको शव हेर्दा बाहिर कतै हत्या गरी नगवा पोखरीको डिलमा ल्याएर फालेको जस्तो देखिन्छ’, घटनास्थलमा पुगेका पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले भने। शवलाई परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ। ‘घटनास्थलमा फेला परेका दशिप्रमाणहरू भने प्रहरीले सुरक्षित राखी बाहिरबाट कुकुर पनि झिकाइएर अनुसन्धान थालिदै गरेको छ’ उनले भने ।

बिहीबार घरबाट पैसा उठाउन भनी हिँडेका चौरसियाको मोबाइल सोही दिन साँझबाट नै अफ रहेको परिवारका सदस्यले बताए। शुक्रबार कानबाट रगत बग्दै गरेको नाइटो मूनी छुरा प्रहार गरेको जस्तो प्वाल देखिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए। घटनाको प्रकृतिले हत्या गरी फालेको हुनसक्ने पर्सा प्रहरीको पनि अनुमान छ। ठोस रूपमा भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार